शिक्षक आन्दोलनसँगै विधेयकको दफावार छलफललाई तीव्रता दिँदै

काठमाडौं । शिक्षा ऐन जारी गर्न शिक्षकहरूको दबाबमूलक आन्दोलन चर्किएपछि संसदीय समितिले शिक्षा विधेयकमाथिको दफावार छलफललाई तीव्रता दिएको छ । प्रतिनिधिसभाको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिले उपसमिति गठन गरी विधेयकमाथिको दफावार छलफललाई तीव्र रुपमा अघि बढाएको हो । विद्यालय शिक्षा विधेयक २०८० माथि छलफल गर्न समितिले सांसद छविलाल विश्वकर्माको संयोजकत्वमा ११ सदस्यीय उपसमिति गठन गरेको थियो । उपसमितिलाई कार्य प्रारम्भ गरेको ३५ दिनभित्र दफावार छलफल टुंग्याई समितिसमक्ष प्रतिवेदन पेस गर्न कार्यादेश छ ।

विधेयकको दफावार छलफलका निम्ति गठित उपसमितिको चैत १८ गतेयता निरन्तर बैठक बसिरहेको संयोजक विश्वकर्माले जानकारी दिए । बुधवबारसमेत गरी आठपटक बैठक बसेको र समितिले दिएको समयसीमाभित्र छलफल टुंग्याउनेगरी छलफल अघि बढाइएको उनले बताए । हामीलाई दिइएको समयसीमाभित्र कार्यसम्पन्न गर्ने कार्यतालिका छ, ३५ दिनभित्रै दफावार छलफल सक्ने गतिमा छौँ, सांसद विश्कर्माले भने । विद्यालय शिक्षा विधेयकमा १६३ दफा छन् । एक हजार ७५८ वटा संशोधन प्रस्ताव परेको विधेयकका सम्बन्धमा यसअघि समितिले सातै प्रदेशका सरोकारवालाबाट राय सुझाव संकलन गरी प्रतिवेदन तयार पारिसकेको छ । समिति सभापति अम्मरबहादुर थापा आगामी असारसम्ममा विधेयकलाई ऐनको रूप दिनेगरी सदनमा पेस गर्न सकिने बताउँछन् । शिक्षा विधेयकलाई ऐनको रूपमा जारी नगरेसम्म आन्दोलनमै रहने अडानका साथ बुधबार सातौँ दिन पनि शिक्षकहरू सडकमै छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *