डाक्टरले जिल्ला प्रशासन र स्वास्थ्य मन्त्रालय घेराउ गर्ने

काठमाडौं । नेपाल चिकित्सक संघले काठमाडौं बाहिरका डाक्टरलाई जिल्ला प्रशासन कार्यालय र काठमाडौं उपत्यकाका डाक्टरलाई स्वास्थ्य मन्त्रालय घेराउ गर्न निर्देशन दिएको छ । चिकित्सक संघको विस्तारित कार्यसमिति र आवासीय चिकित्सकको छलफलले उक्त निर्णय गरेका हो । बुधबार पत्रकार सम्मेलन कार्यकारी सदस्य तेत्छु मल्ल भने, ‘निजी मेडिकल कलेजमा काम गर्ने डाक्टरले आकस्मिक बाहेक सम्पूर्ण काम संघर्षमा आउन अनुरोध गर्दछौं । उनले अगाडी थपे, ‘देशभरका सम्पूर्ण चिकित्सकलाई भोलि १० देखि १२ बजेसम्म जिल्ला प्रशासनका कार्यालयमा घेराउ गर्न र उपत्यका भित्रका चिकित्सकलाई माइतीघरमा उपस्थित भइ स्वास्थ्य मन्त्रालय घेर्न आह्वान गर्दछौं ।’ साथै २४ घन्टाभित्र माग कार्यान्वयन नभए आकस्मिक बाहेकका सेवा रोक्ने संघले चेतावनी दिएको छ । चिकित्सा शिक्षा आयोगले २५ माघमा बसेको १६औं बैठकमा आवासीय चिकित्सकलाई सरकारी आठौं तहको तलब सुविधा दिन निर्देशन दिएको थियो । तर निजी मेडिकल कलेजले निर्देशन अवज्ञा गरेका छन् । नाफा कमाउने उद्देश्यका साथ एमबीबीएस, बीडीएसको सिट र शुल्क बढाउनका लागि चलखेल गरिरहेको आरोप उनीहरूमाथि लागिरहेको छ ।

आवासीय चिकित्सक २८ दिनसम्म पनि सडक उत्रिएर आफ्नो अधिकार माग्दा पनि सरकारले उदासिनता देखाएको मल्लले बताए । चिकित्सा शिक्षा आयोगको १६ औं बैठकको निर्णय कार्यावन्यन नहुनु र आयोगले शैक्षिक कार्यक्रम अनुसार निजी र सरकारी प्रतिष्ठानमा एकैपटक म्याचिङ प्रक्रिया नगराइकन यो अवस्था आएको संघको ठहर छ । निजी मेडिकल कलेजहरुले आयोगले कायम गरेको निर्वाह भत्ता नदिएपछि २८ दिनयता सडकमा उत्रिएर चिकित्सक आन्दोलन गरिरहेका छन् । तर निजी मेडिकल सञ्चालकले डर, त्रास र धम्कीपूर्ण दिने काम गरिहेको आवासीय चिकित्सक बताउँछन् । चितवन मेडिकल कलेजमा आवासीय चिकित्सक विप्लव लामिछानेले आवासीय चिकित्सकहरूलाई मेडिकल कलेजले दबाएको बताए । ‘व्यक्तिगत रूपमा बोलाएर मानसिक दबाब दिने, कक्षाबाट हटाइदिने र राजिस्टेसन रोक्ने वा बाहिर गरिदिन्छौं भन्ने धम्की दिइरहेका छन्,’ लामिछाने भन्छन्, ‘केही साथीलाई गेटसम्म बोलाएर औपचारिक रूपमा डर देखाउने प्रयास गरिएको छ ।’ उनले अगाडी थपे, ‘यो आन्दोलन व्यक्तिगत स्वार्थको लागि होइन, सम्पूर्ण आवासीय चिकित्सकको भविष्य, अधिकार र आत्मसम्मानका लागि हो ।’

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *