राष्ट्रिय गौरवका आयोजनाहरूलाई पुनः विचार गरौँ- रक्षा मन्त्री
काठमाडौँ। रक्षा मन्त्री मानवीर राईले घोषणा गरिएका राष्ट्रिय गौरवका आयोजनाहरूको पुनः मूल्याङ्कन गर्न आवश्यक रहेको बताएका छन्।
मङ्गलवार सिंहदरबारमा बसेको राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिको बैठकमा बोल्दै मन्त्री राईले अध्ययनपछि गैर-आवश्यक राष्ट्रिय गौरवका आयोजनाहरू घटाउन सकिने बताए। उनले धेरै आयोजना घोषणा गर्ने तर काम नहुने अवस्था रहेको भन्दै देशको आर्थिक क्षमताले धान्न नसक्ने र अनावश्यक घोषणा गरेर राख्नुको औचित्य नभएकोमा जोड दिए। थुप्रै राष्ट्रिय गौरवका आयोजना घोषणा गरेर अलपत्र पार्नुभन्दा गर्न सकिने आयोजनालाई मात्र प्राथमिकता दिनुपर्ने उनको भनाइ थियो।
मन्त्री राईले भने, ‘राष्ट्रिय गौरवका आयोजनाहरूमा मेरो पनि मत छ, यसलाई पुनर्विचार गर्नुपर्छ। अलिकति अध्ययन गरेर घटाउनुपर्छ भने पनि घटाऔँ। थुप्रो घोषणा गर्ने, काम हुँदै नहुने, हाम्रो आर्थिक अवस्थाले धान्दै धान्दैन भने अनावश्यक घोषणा गरेर किन राख्ने र? सक्ने मात्रै गरौँ भन्ने मेरो पनि मत छ। मैले त्यो कुरो राखेको पनि छु। कुनै परेकै छैन, राष्ट्रिय गौरवको आयोजनामा नराखी नहुने छ भने त्यसलाई राखौँ तर थुप्रो राष्ट्रिय गौरवका आयोजना घोषणा गरेर लथालिङ्ग राख्नुभन्दा आफूले गर्न सकिने मात्रै गर्न पाए हुन्थ्यो, भनेर मेरो पनि मत छ। क्याबिनेटमा मेरो पनि आफ्नो मत छ। मैले बारम्बार भनिरहेको छु।’
रक्षा मन्त्री राईले फास्ट ट्र्याक निर्माण भइरहेका क्षेत्रका सांसदहरूसँग छलफल गर्ने जानकारी दिए। गाडीबाटै अनुगमन गरी निष्कर्ष निकाल्ने प्रयासमा आफू रहेको बताउँदै उनले गरिबी परिचयपत्र वितरण गर्न जरुरी रहेको पनि उल्लेख गरे।