भारतीय विश्वविद्यालयमा नेपाली विद्यार्थीको मृत्यु प्रकरणबारे सांसदहरूले मागे गृहमन्त्रीको जवाफ

काठमाडौं । भारतको उडिसास्थित केआईआईटी विश्वविद्यालयमा अध्ययनरत नेपाली छात्रा प्रिसा साहको मृत्युपछि संसदमा गृहमन्त्रीसँग प्रत्यक्ष जवाफ माग गरिएको छ।

राष्ट्रिय सभाको आइतबारको बैठकमा आकस्मिक समयमा सांसदहरूले बारम्बार एउटै विश्वविद्यालयमा यस्ता घटनाहरू हुनु गम्भीर चिन्ताको विषय भएको बताएका छन्। वीरगञ्जकी प्रिसा साह यसअघि मृत भेटिएकी हुन्। यही विश्वविद्यालयमा केही महिनाअघि अर्की छात्रा प्रकृति लम्साल पनि मृत फेला परेकी थिइन् ।

सांसद गंगा कुमारी बेलबासेले सरकारले यस घटनालाई गम्भीरतापूर्वक लिनुपर्ने र गृहमन्त्रीले जवाफ दिनैपर्ने माग राखिन्। उनले अनुसन्धान समिति गठन गर्न पनि सुझाव दिइन्। एमाले सांसद सुमित्रा बिसीले विदेशमा अध्ययन गर्न गएका नेपाली विद्यार्थीको सुरक्षामा सरकार संवेदनशील बन्नुपर्नेमा जोड दिइन्। एकीकृत समाजवादी सांसद मदन कुमारी साहले समस्या दोहोरिरहने विश्वविद्यालयमा एनओसी (अनुमति पत्र) नदिन सुझाव दिइन्।

उनले अभिभावकहरूलाई पनि आफ्ना छोराछोरी त्यहाँ नपठाउन अपिल गरिन्। लोकतान्त्रिक समाजवादी पार्टीका सांसद शेखर कुमार सिंहले चार महिनामा दुईजना नेपाली विद्यार्थीको मृत्यु हुनु अत्यन्तै दुखद भएको भन्दै सरकार तुरुन्त सजग बन्नुपर्ने बताए।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *