सरकारसँगको सहमति नमान्दै आवासीय चिकित्सकको आन्दोलन जारी राख्ने घोषणा
काठमाडौं । सरकारसँग शनिबार भएको चार बुँदे सहमति अस्वीकार गर्दै आवासीय चिकित्सकहरूले आन्दोलन जारी राख्ने घोषणा गरेका छन्।
स्वास्थ्यकर्मीका लागि सुरक्षित कार्यस्थल संघर्ष समितिले सरकारसँग ठोस कार्यान्वयनको योजना नआएको भन्दै आन्दोलन फिर्ता नलिने स्पष्ट पारेको हो। स्वास्थ्य मन्त्री प्रदीप पौडेल, नेपाल चिकित्सक संघ र केही आवासीय चिकित्सकबीच शनिबार सहमति भएको भनिए पनि संघर्ष समितिका प्रवक्ता डा. सञ्जय बरालले त्यो सहमति आफूहरूको होइन भनी स्पष्ट पारेका छन्। उनीहरूका अनुसार सरकारले पटक-पटक निर्देशन मात्र दिएको र तीन महिनादेखिको पारिश्रमिक अझै भुक्तानी नभएको गुनासो छ।
संघर्ष समितिका संयोजक डा. शेषराज घिमिरेले संवाद बिना केही चिकित्सकलाई प्रयोग गरेर आन्दोलन रोक्ने प्रयास भएको आरोप लगाए । निजी मेडिकल कलेजहरूले चिकित्सकलाई धम्की दिएको र कलेज प्रवेशमा समेत रोक लगाएको बताइएको छ। आवासीय चिकित्सक डा. अरुण उप्रेतीले लामो समयदेखि आन्दोलन गरे पनि ठोस निर्णय नभएको भन्दै चिकित्सक अपमानित भएको टिप्पणी गरेका छन्। उनीहरूको मुख्य मागमध्ये एमडी, एमएस, एमडीएस आवासीय चिकित्सकलाई सरकारी आठौं तहसरह पारिश्रमिक दिनुपर्ने, स्नातकोत्तर कार्यक्रम सुधार गर्न नियामक अंगको गठन, पारदर्शी परीक्षा र कलेजहरूको उत्तरदायित्व सुनिश्चित गर्नु रहेको छ। सरकार र मेडिकल कलेजले माग नमान्ने हो भने सम्बन्धन र अनुदान खारेज गर्नुपर्ने उनीहरूको चेतावनी छ।