फिल्म ‘जलाकी’मा अभिनेत्री शिल्पा मास्केको इन्ट्री
काठमाडौँ । निर्देशक अशोक थापा मगरको नयाँ फिल्म ‘जलाकी’मा अभिनेत्री शिल्पा मास्केको इन्ट्री भएको छ ।
अभिनेत्री उपासना सिंह ठकुरी र अभिनेता सोनम तोप्देनलाई लिएर पहिलो चरणको छायांकन भइसकेको फिल्ममा गत महिना धीरज मगर मुख्य भूमिकामा अनुबन्ध भएका थिए भने अब शिल्पा मास्केको इन्ट्री भएको छ । उनीसँग निर्माताले यसै साता लिखित सम्झौता गरेका हुन् । शिल्पा पछिल्लो पटक फिल्म ‘देवी’मा देखिएकी थिइन्, जुन गत वर्षको भदौमा रिलिज भएको थियो । उनले फिल्मको छायांकन नगरेको भने २ वर्षभन्दा बढी भइसकेको छ । २०८० सालमा प्रदर्शित ‘परस्त्री’ उनले छायांकन गरेको पछिल्लो फिल्म हो ।
दोस्रो चरणको छायांकनको तयारी भइरहेको ‘जलाकी’मा आकृति राजभण्डारी, माओत्से गुरुङ, बुद्धि तामाङ, अस्तित्व भट्टचन, संगीता थापा मगर, खड्क बहादुर पुन (खबपु) लगायतका कलाकारको पनि अभिनय रहनेछ । गायक सुशान्त केसीको बहुचर्चित गीत ‘बार्दली’को भिडियोमा अभिनय गरेपछि चर्चामा आएकी आकृतिले यही फिल्मबाट अभिनेत्रीको रुपमा डेब्यु गर्न लागेकी हुन् ।