बुध्द एयरको ७२ सिटे जहाजको काठमाडौं–भरतपुर परीक्षण उडान

बुध्द एयरले पहिलोपटक ७२ सिट क्षमताको एटीआर जहाजमार्फत काठमाडौं–भरतपुर रुटमा परीक्षण उडान सम्पन्न गरेको छ । बिहान साढे ९ बजे जहाजले भरतपुर विमानस्थलमा अवतरण गर्दै रनवे १५ (दक्षिण–पूर्व) र रनवे ३३ (पश्चिम) दुबै साइडबाट उडान तथा अवतरण परीक्षण गरेको हो । पाइलट प्रमोद थापा र रवि श्रेष्ठले उडान सञ्चालन गरेका थिए। उडान सुरक्षित र सहज रहेको बुध्दले जनाएको छ । नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक देवचन्द्रलाल कर्णको उपस्थितिमा सम्पन्न परीक्षणका रिपोर्ट तयार पार्ने प्रक्रिया अगाडि बढेको छ । उनले परीक्षण सफल भएको औपचारिक निर्णय फ्लाइट रेकर्डरको अध्ययनपछि मात्र हुने जनाए। कर्णका अनुसार इन्जिन अवस्था, ब्रेकिङ्ग एक्सन, भ्वाइस रेकर्ड लगायतका पक्षको विश्लेषणपछि रिपोर्ट एकदेखि डेढ महिनामा तयार हुनेछ । एयरलाइन्सले चाहेमा दुई महिनाभित्र नियमित सेवा सुरु गर्न सक्ने सम्भावना छ । हाल बुध्द एयरका ४२ सिटे जहाजले मात्र काठमाडौं–भरतपुर र पोखरा–भरतपुर उडान गर्दै आएका छन् । तीमध्ये एक जहाज फेजआउट हुँदैछ, जसका कारण ७२ सिटे जहाज सञ्चालनको तयारी गरिएको हो । भरतपुरबाट हाल बुध्दले दैनिक ७ उडान गरिरहेको छ। ठूला जहाज सञ्चालनमा आएपछि भाडा घट्ने अपेक्षा गरिएको छ।

अहिले एकतर्फी भाडा ४५ सय रुपैयाँभन्दा बढी लिने गरिएको छ। यसअघि श्री एयरलाइन्सले पनि २०८१ असार ६ मा ७२ सिटे जहाज परीक्षण उडान गरी कार्तिकदेखि नियमित उडान गरिरहेको छ। यति एयरलाइन्सको उडान भने हाल स्थगित छ। भरतपुर–काठमाडौं हवाई यात्रा करिब २० मिनेटको हुने गर्दछ। अतीतमा छोटो रनवेको कारण ठूला जहाज नआउने भनिए पनि अहिले ७२ सिटे जहाजको सफल परीक्षणले त्यो धारणा परिवर्तन भएको छ। हाल १२ सय मिटर लामो रनवेलाई ३०० मिटर थप्ने प्रक्रिया समेत अघि बढाइएको छ, जसका लागि नेपाली सेनाको घोडा प्रजनन् केन्द्रको जमिन आवश्यक परेको छ । विमानस्थलको नयाँ टर्मिनल भवनको निर्माण पनि जारी छ । यद्यपि, पूर्वतर्फ बनेका घर तथा संरचनाहरू उडान सुरक्षाका लागि चुनौती भइरहेका छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *