बजेटमा सपनाको प्रोजक्ट चाहिएको छैन : अध्यक्ष सिंह

काठमाडौं । आगामी आर्थिक वर्षका लागि बजेटको गृहकार्यमा लागेको सरकारलाई निर्माण व्यवसायीहरुले बजेटमा सपनाको प्रोजक्ट नल्याउन भनेका छन् ।

लामो समयदेखि भौतिक पूर्वाधार क्षेत्रमा परेको समस्याका कारण मुलुकको अर्थतन्त्रमा धेरै ठूलो प्रभाव परेको छ र सपनाका प्रोजेक्टले विकासको गतिलाई अघि बढ्न नसक्ने भएकोले कार्यान्वयन योजना र तिनमा आधारित बजेट ल्याउन भनेका हुन् । निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहकाअनुसार मुलुकको अर्थतन्त्र चलायमान हुन सकेको छैन । उद्योगधन्दाहरु चलायमान हुन सकिरहेको छैन भने रोजगारी सिर्जना हुन सकिरहेको छैन ।

त्यसैले अब बजेट ल्याउँदा नीति तथा कार्यक्रममा उल्लेख भएका विषयहरुलाई पूर्ण रुपमा सम्बोधन गरेर ल्याउनुपर्ने उनले बताए । ‘सरकारले बजेटमा सपनाको प्रोजक्ट भन्दा पनि कार्यान्वयनयोग्य योजनाहरु ल्याउनुपर्छ । प्रधानमन्त्री, अर्थमन्त्रीले यसबारे प्रतिवद्धता समेत जनाइसक्नुभएको छ । सोही प्रतिवद्धता अनुसार बजेटमा योजना ल्याइनुपर्छ । दुई वटा आर्थिक वर्षमा सम्पन्न हुने योजनाहरु बजेटमा समावेश गरिनुपर्छ । सरकारले यसअघि जतिपनि योजनाहरु सम्झौता गरेको छ ती योजनाहरुलाई सम्पन्न गर्नेतिर सरकार अग्रसर हुनुपर्छ । अब योजनाहरुको प्राथमिकीकरण हुनुपर्छ । प्रतिफल दिने र सम्पन्न हुने योजनाहरुलाई जतिसकिन्छ बढि यही बजेटले सम्बोधन गर्ने, बाँकीलाई आगामी बर्षको बजेटमा सम्बोधन गर्नुपर्छ’ उनले भने ।

उनकाअनुसार आगामी बजेटमा सरकारले कुनैपनि योजना बजेटमा समावेश नगर्ने हो भने ती योजनाहरुलाई स्वतः खारेज गर्नुपर्छ । ती योजनहरुलाई स्वतः खारेज गर्ने प्रावधान बजेटमा राखिएन भने सरकारले सोचेजस्तो योजना प्राथमिकीकरण गर्न सकिँदैन । बजेटमा समावेश नभएका योजना सम्पूर्ण खारेज गर्नुपर्छ ।

अध्यक्ष सिंहले सरकारले साधारण खर्चलाई निर्मम हिसावले कटौती गर्दै लैजानुपर्ने समेत बताए । पपुलर हुनकै लागि बजेट राख्ने र त्यसले प्रतिफल नदिने र मुलुकको अर्थतन्त्र धाराशायी हुने काम जुन भइरहेको छ त्यसलाई पूर्ण रुपमा सच्चाउने काम बजेटबाट गरिनुपर्ने उनको भनाई छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *