नेपाल जग्गा तथा आवास विकास सङ्घको अध्यक्षमा कुँवर

काठमाडौं । नेपाल जग्गा तथा आवास विकास सङ्घको अध्यक्षमा इञ्जिनियर दीपक कुँवर निर्वाचित भएका छन् । सङ्घको गएराति सम्पन्न १८औँ वार्षिक साधारणसभा तथा निर्वाचनमा सिडी डेपलपर्स प्रालिका प्रबन्ध निर्देशक कुँवरको अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति निर्वाचित भएका हुन् । सङ्घको प्रथम उपाध्यक्षमा पुरुषोत्तम पौडेल, द्वितीय उपाध्यक्षमा सुमितकुमार अग्रवाल र तृतीय उपाध्यक्षमा रोशन भोयद्यो निर्वाचित भएका छन् । यस्तै, महासचिवमा तुलसीप्रसाद अधिकारी, सचिवमा वरुणकुमार आचार्य र कोषाध्यक्षमा निश्चलबहादुर श्रेष्ठ निर्वाचित भएका छन् । सदस्यमा डेकेन्द्रकुमार श्रेष्ठ, मनोजबहादुर श्रेष्ठ, हरिभक्त श्रेष्ठ, सन्दिप श्रेष्ठ, प्रसित भोयद्यो, सिद्धान्तविक्रम धमला, आभास कुँवर र अरनिको सिंह निर्वाचित भएका छन् । अध्यक्ष निर्वाचित कुँवरले मन्तव्य राख्दै घरजग्गा व्यवसाय चलायमान नहुँदा देशको अर्थतन्त्रमा गम्भीर असर परेको भन्दै यस क्षेत्रलाई चलायमान बनाउन राज्यले समयसापेक्ष ऐन, कानुन परिमार्जन गर्नुपर्ने बताए । घरजग्गा व्यवसायलाई राज्यले उद्योगको मान्यता दिनुपर्ने उनको भनाइ छ ।

नवनिर्वाचित अध्यक्ष कुँवरले जग्गाको हदबन्दीका कारण खर्बौं रकम बराबरको जग्गा रोक्का हुँदा व्यवसायी समस्यामा परेको बताए । घरजग्गा व्यवसाय चलायमान नहुँदा सिमेन्ट, रड, डन्डी उद्योगीलेसमेत समस्या भोग्नुपरेको उनको भनाइ छ । सङ्घको १८औँ साधारणसभामा सहरी विकास मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देलले सहरी विकास नीति, २०८१ लाई मन्त्रिपरिषद्ले स्वीकृत गरिसकेको बताउँदै सहरी विकास विधेयकलाई ड्राफ्ट गरेर सुझावका लागि भूमि व्यवस्था मन्त्रालयमा पठाइएको बताए । सचिव सिग्देलले संयुक्त आवास ऐन र भवन ऐनलाई समयसापेक्ष संशोधन गर्न मन्त्रालयले काम गरिरहेको बताए । व्यवस्थित जग्गा वर्गीकरण गरेर व्यवस्थित सहरको अवधारणा अगाडि बढाउन लाग्नुपर्ने उनको भनाइ छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सहसचिव गणेशप्रसाद भट्टले घरजग्गा व्यवसायलाई व्यवस्थित बनाउनका लागि मन्त्रालयले सहजीकरण गर्ने बताए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *