स्ट्याण्डर्ड चार्टर्ड बैंकले छैटौं पटक पायो ‘ट्रिपल ए’ रेटिङ
काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपालले छैटौंपटक ट्रिपल ए रेटिङ पाएको छ । क्रेडिट एजेन्सी इक्राले यो रेटिङ पुनः पुष्टी गरेको हो । ट्रिपल ए रेटिङ वित्तीय दायित्वहरू समयमै पुरा गर्न अत्यन्त उच्च सुरक्षाको सूचक हो, जसमा लगानीकर्ताको जोखिम न्यूनतम मानिन्छ । इक्रा नेपालले जारी गरेको विश्लेषणमा बैंकको पूँजी स्थिति, जोखिम व्यवस्थापन क्षमता तथा सम्पत्ति गुणस्तरमा देखिएको मजबुती रिटिङ पुनः पुष्टि गर्ने मुख्य कारण हुन् । चालु वर्षको मध्य अप्रिलसम्म बैंकको पूँजी पर्याप्तता अनुपात १७.४४ प्रतिशत र टियर–१ पूँजी १५.१५ प्रतिशत रहेको छ, जुन नियामक निकाय नेपाल राष्ट्र बैंकको न्यूनतम मापदण्ड ११ र ८.५ प्रतिशतभन्दा निकै धेरै हो ।
बैंकको नन–पर्फर्मिङ लोन १.४४ प्रतिशत मात्र रहेको छ, जुन ‘क’ वर्गको बैंक औसत ५.०५ प्रतिशतभन्दा निकै न्यून छ । यस्ता सूचकले बैंकको उधारो प्रणाली, जोखिम नियन्त्रण अभ्यास र प्रतिस्पर्धी ब्याजदर प्रस्ताव गर्ने क्षमतामा मजबुती देखिएको उल्लेख गरिएको छ । बैंकका सीईओ तथा हेड अफ कभरेज गोरख शम्सेर राणा भन्छन्, ‘छैटौं पटक पनि ट्रिपल ए रेटिङ प्राप्त गर्नु हाम्रो सेवाप्रतिको निरन्तर प्रतिबद्धता र विश्वसनीयताको प्रतिविम्ब हो । यसमा ग्राहक, लगानीकर्ता र हाम्रा समर्पित कर्मचारीहरूको योगदान अमूल्य छ ।’ स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपालमा झण्डै ७० प्रतिशत स्वामित्व स्ट्याण्डर्ड चार्टर्ड ग्रुपको रहेको छ । बैंक नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत छ र हाल देशभर सबैभन्दा कम लागतमा निक्षेप संकलन गर्न सफल संस्थाका रूपमा स्थापित छ ।