कांग्रेसले चुनावका बागी र अन्तर्घातीमाथि कारबाही गर्दै

काठमाडौं । नेपाली कांग्रेसका केही पदाधिकारी र अनुशासन समितिबीच गएका चुनावमा अन्तर्घात गर्नेहरूमाथि कारबाही गर्ने सन्दर्भमा छलफल सुरु भएको छ । शुक्रबार सभापति निवास बूढानीलकण्ठमा बसेको बैठकमा ०७९को निर्वाचनमा स्थानीय, प्रदेश र संघीय चुनावसम्म पार्टीमाअन्तर्घात गरेको भनी परेका उजुरीमा छलफल भएको अनुशासन समितिले जनाएको छ । छलफलमा सभापति देउवासहित उपसभापतिद्वय पूर्णबहादुर खड्का र धनराज गुरुङ तथा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा सहभागी थिए । त्यस्तै, अनुशासन समिति संयोजक आनन्दप्रसाद ढुंगानासहित सदस्यहरू ईश्वरी न्यौपाने, ध्रुव वाग्ले, सञ्जय गौतम र राजीव कोइराला सहभागी थिए । गत आइतबारको पदाधिकारी बैठकबाट आफ्नै गृहमन्त्री रमेश लेखकको सामाजिक सञ्जाल र मिडियामा आएका अप्रमाणित समाचारका भरमा राजीनामा मागेको भन्दै नेता डा. शेखर कोइराला, तथा सांसद सुनिल शर्मा र राजेन्द्र बजगाईंलाई स्पष्टीकरण सोध्ने भनिएको थियो । अनुशासन समितिमा कुनै उजुरी नपरेकाले त्यो जिम्मा अनुशासन समितिलाई आउनसक्ने आकलन समितिका संयोजक र सदस्यहरूको थियो । तर, बूढानीलकण्ठ बैठकमा उक्त विषय प्रवेश नै भएन । आजको बैठक हामीले भएका प्रगति के–के छन् र अब कसरी काम गर्ने हो भन्ने विषयमा परामर्श लिनेमा केन्द्रित थियो, समितिका संयोजक ढुंगानाले भने, त्यसबाहेक अन्य नेताहरूको स्पष्टीकरणको विषय उठेन । ०७९को स्थानीस्य तह निर्वाचनदेखि संघीय निर्वाचनसम्म बागी उम्मेदवारी दिएका, पार्टीमा अन्तर्घात भएका तथा विपक्षी उम्मेदवारलाई सघाएकासहितका दुई हजार एक सय उजुरी अनुशासन समितिमा छन् । ती उजुरीको अध्ययन गरी प्रारम्भिक प्रतिवेदन केन्द्रीय समितिमा ब्रिफिङ गरिसकेको अनुशासन समितिले शुक्रबार थप अपडेटपिहतका ‘ब्रिफिङ’ गरेको छ । महामन्त्री गगन थापा नेतृत्वको सदस्यता वितरणसम्बन्धी अन्तिमपटक असार मसान्तभित्र क्रियाशील सदस्यता नवीकरण गरी विवरणसहित शुल्क जम्मा गरिसक्न परिपत्र गरेको छ । त्यसलाई प्रभावित हुन नदिन असार १५ भित्र कारबाही सिफारिसपछि केन्द्रीय समितिको निर्णयसहित परिपत्र गर्ने कांग्रेसको तयारी छ ।

सदस्यताको विवरण अध्यावधिक गरिसक्न पछिल्लोपटक असार मसान्तको समय तोकिएको छ, त्यसैलाई दृष्टिगत गरी असार १५ भित्र सिफारिस गरिसक्नू भन्ने भएको छ । हामी कस्ता उजुरीमा कस्तो कारबाही गर्ने भन्ने मापदण्ड बनाउँदै त्यसैका आधारमा सिफारिस गर्छौं । कांग्रेसमा २१ सयमध्ये केन्द्रीय नेताहरू, जिल्ला सभापतिहरू, क्षेत्रीय सभापतिदेखि विभिन्न तहको जिम्मेवारीमा रहेकासमेत चारसय बढी उजुरी छन् । उनीहरूलाई कसरी काम गराउने भनी पनि चाँडो निर्णय आवश्यक भएको कांग्रेसको केन्द्रीय कार्यालयले बताएको छ । सचिवालयका अनुसार, हालसम्म अनुशासन समितिको ३३ पटक बैठक बसेको तथा उजुरीका आधारमा ४२८ जनालाई स्पष्टीकरण सोधेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *