बचत संघहरुले संयुक्त रुपमा विज्ञप्ति जारी गर्दै प्राधिकरणद्वारा जारी मापदण्ड तत्काल संशोधन गर्न माग

काठमाण्डौं । देशभर रहेका जिल्ला बचत तथा ऋण सहकारी संघहरुले राष्ट्रिय सहकारी नियमन प्राधिकरणले जारी गरेको निर्देशन तथा मापदण्डले सहकारी क्षेत्रलाई समस्या पारेको भन्दै तत्काल संशोधनको लागि माग गरेका छन् । मुलुकभर रहेको जिल्ता बचत तथा ऋण सहकारी संघहरुले सयुक्त रुपमा विज्ञप्ति जारी गर्दै निर्देशनका थुप्रै बुँदाहरुले साकोस अभियानलाई अप्ठ्यारो पारेको भन्दै तत्काल संशोधनका लागि सम्बन्धित निकायसँग माग गरेका हुन् । बचत तथा ऋणको कारोबार गर्ने सहकारी संस्थाहरुका लागि प्राधिकरणले जारी गरेको निर्देशन तथा मापदण्डप्रति जिल्ला बचत तथा ऋण संघहरुको गम्भीर ध्यानाकर्षण भएको उनीहरुले जनाएका छन् । उनीहरुले मापदण्डका कतिपय बुँदाहरु तत्काल संशोधन गर्न जोडदार माग गरेका छन् । मापदण्डले बचत तथा ऋण सहकारीको अन्तर्राष्ट्रिय मूल्य, मान्यता र सिद्धान्त प्रतिकुल हुने गरी प्रारम्भिक संस्थाहरुले संघहरुमा राखेको तरलतालाई समयसीमा तोकी गणना हुने व्यवस्था, संघहरुबाट ऋण लिन नपाउने व्यवस्था,संघहरुको शेयर खरिद गर्न नपाउने व्यवस्था,तेस्रो पक्षको धितोमा ऋण कर्जा प्रवाह गर्न नपाउने व्यवस्था र भौगोलिक कार्यक्षेत्र बाहिरको परियोजना वा व्यवसायमा प्रवाहित ऋण खराव ऋणमा वर्गिकरण गर्नुपर्ने व्यवस्थालाई संशोधन गर्न माग गरिएको छ । त्यसैगरी धितो सकार गरेको सम्पत्तिमा सोही मितिबाट शत प्रतिशत नोक्सानी व्यवस्था,पुँजीकोष सम्बन्धि विवरणमा संघहरुमा रहेको रकमलाई समावेश नगर्ने,व्यवस्थापकको पदावधि तोक्ने लगातयतका व्यवस्थाले सहकारी अभियानलाई संकुचन र धरासायी बनाउने उनीहरुको ठहर छ । यसले प्रारम्भिक बचत तथा ऋण सहकारी संस्थालाई चलायमान हुन नसक्ने अवस्था सिर्जित गरी तरलता गणनाको समय सीमाले भ्रम सृजना गर्ने कार्य भएको विज्ञप्तिामा जनाइएको छ । यस विषम नीतिगत अस्थिरताले निम्ताएको समस्या समाधानको लागि सहकारी अभियान एकतावद्वका साथ अगाडि बढनुपर्ने अवस्था सृजना भएको हुँदा बचत संघहरुले सयुक्त रुपमा विज्ञप्ति जारी गर्नुपरेको उनीहरुले जनाएका छन् । प्राधिकरणले जारी गरेको मापदण्ड तत्काल संशोधन गर्न नेफ्स्कूनले जारी गरेको विज्ञप्तिमा ऐक्यवद्वता गर्दै यस विषम परिस्थितिमा राष्ट्रिय सहकारी महासंघ तथा अन्य संघहरुलाई साझा सरोकारका विषयमा जिम्मेवार ढंगले महत्वपूर्ण भूमिका निर्वाह गर्न विज्ञप्ति मार्फत् विशेष अनुरोध गरिएको छ । सहकारी संस्थाको छाता संघमा आवद्व नभएका अधिकांश सहकारी संस्थामा समस्या देखिएको र संघले सदस्य संस्थाहरुको संस्थागत तथा क्षमता विकास,नेतृत्व विकास,व्यवसायिक प्रवद्र्वन तथा अन्तर लगानी मार्फत् संस्थाहरुलाई निरन्तर सवलीकरण गर्दै आइरहेको विज्ञप्तिमा जनाइएको छ । सहकारी संस्थाहरुलाई तरलता अभावको अवस्थामा तरलता व्यवस्थापनका लागि ऋण सहयोग गर्ने माध्यमको रुपमा संघहरु मात्र रहेको र संस्थाहरुको वृद्धि विकासको लागि संघहरुले महत्वपूर्ण भूमिका निभाउँदै आएकाले संघहरुको दायरालाई घुम्च्याउने कार्य गलत भएको विज्ञप्तिमा उल्लेख छ ।

ललितपुर जिल्ला बचत संघका अध्यक्ष रामहरी बजगाईले देशभर सक्रिय रुपमा काम गरिरहेका बचत संघहरुले सयुक्त रुपमा विज्ञप्ति जारी गरेको जानकारी दिँदै प्राधिकरणले हालै ल्याएको मापदण्डका थुप्रै व्यवस्था सच्याउन माग गरिएको बताए । उनले जिल्लामा प्रारम्भिक संस्थाहरुको नजिक रहेको काम गर्ने भनेको विषयगत संघहरुको रहेको तर मापदण्डले जिल्ला संघहरुलाई मार्न खोजको आरोप लगाए । अध्यक्ष बजगाईले तत्काल मापदण्ड र निर्देशनलाई संशोधन गर्न माग गरिएको र त्यसका लागि राष्ट्रिय सहकारी महासंघ र नेफ्स्कूनले नेतृत्व गर्नुपर्ने जनाए । प्रारम्भिक सहकारी संस्थाको रक्षाको लागि देशभर रहेका बचत संघहरु एक ढिक्का भएर अगाडि बढ्ने उनको भनाई छ । निर्देशन र मापदण्डप्रति महासंघ मौन रहेको भन्दै उनले संघहरुले महासंघको साथ खोजेको समेत उल्लेख गरे । नेफ्स्कूनले पनि विज्ञप्ति जारी गर्दै कडा रुपमा प्रस्तुत हुने भनेको भनेपनि विज्ञप्ति प्रष्ट नभएको उनको भनाई छ । देशभर रहेका जिल्ला बचत संघहरुले निर्देशनलाई परिमार्जन गर्न राज्यसँग पहल गर्ने र त्यसका लागि अभियानसँग मिलेर अगाडि बढ्ने उनले प्रतिक्रिया दिए । संघहरुको लागि छुट्टै निर्देशन तथा मापदण्ड जारी गर्न र समय समयमा अनुगमन तथा निरिक्षण गर्न समेत उनको माग छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *