आज सिथि नखः पर्व ,नेवार समुदायले इनार, पोखरी र ढुंगेधारा सफा गरी मनाए
भक्तपुर । जेष्ठ शुक्ल पक्ष कुमार षष्ठी अर्थात् नेवार समुदायले वर्षभरिको अन्तिम पर्वका रूपमा आज धुमधामका साथ सिथि नखः पर्व मनाइरहेका छन् । सिथि नखः पर्वको नेवार समुदायमा विशेष महत्व छ । यो चाडसँगै वर्षा सुरु हुने र किसानको वर्षको महत्त्वपूर्ण कार्य सिन्या ज्याः (धान रोपाइँ) सुरु हुने भएकाले यस चाडलाई अन्तिम चाडका रूपमा मनाइन्छ । भगवान कुमारको जन्मदिनसमेत भएकाले यस दिन नेवार समुदाय कुमारको पूजा गरी मास, मुगी, केराउलगायत दलहनबाट बनेका विशेष प्रकारका पकवान बारा खाने प्रचलन छ । यस वर्ष घरमा भर्खर भित्रिएको नयाँ गहुँको म्हुछ्यामढी (भुटेको गहुँको पिठोमा चिनी मिसाएर मुठ्ठी पारी बनाइएको विशेष खालको रोटी) समेत खाने गरिन्छ । साथै चटामरी, पापड, गहुँको मालपुवालगायत पकवान खाने चलन पनि रहेको छ ।
सिथि नखःको दिन नेवार समुदाय मुहान, इनार, कुवा, पोखरी, धारालगायतका पानीको स्रोत सरसफाइ गर्दछन् । वर्षात्को बेला बगेर आउने भेल र फोहर पानी खानेपानीको मुहानमा मिसिएर पानी दूषित नहोस् भनी पानीको मुहान र स्रोतको वरिपरि सरसफाइ गरी निकास खोल्नु यसको विशेषता हो । साथै हिउँदमा पुरिएको, थुनिएको र सुकेको मूललाई वर्षात्को पानीले फुटाउने भएकाले पनि सिथि नखःको दिन पानीको मूलको सफाइ गर्ने गरिएको हो । सिथि नखःको दिन किसानले खेतबारीमा काम गर्न हुँदैन भन्ने धार्मिक मान्यता रहेकाले एकाबिहानै घरमा रहेका गाईवस्तुको गोबर मल, कम्पोष्ट मललाई खेतबारीमा पुर्याउने गर्छन् । त्यसपछि आफ्नो घर सफा गरी सिथि नखः पर्व मनाउन व्यस्त हुन्छन् । यस दिन खेतको माटोलाई चोट पुर्याउन नहुने धार्मिक मान्यता छ ।