बदलाको भावनाले आफूमाथि भ्रष्टाचार मुद्दा दायर गरिएको हो : अध्यक्ष नेपाल
काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले बदलाको भावनाले आफूमाथि भ्रष्टाचार मुद्दा दायर गरिएको बताएका छन् । पार्टी केन्द्रीय कार्यालय आलोनगरमा आयोजित एक कार्यक्रममा उनले यस्तो बताएका हुन् । नेपालको राजनीतिमा आफ्नो पार्टीको भूमिका महत्त्वपूर्ण रहेकाले त्यसलाई देखेर ईष्या गर्नेहरू आत्तिएको उनले टिप्पणी गरे । आफूमाथि पूर्वाग्रह राखेर मुद्दा चलाएको उनले जिकिर गरे । आफूमाथिको चुनौतीको सामना गर्ने उनले स्पष्ट पारे । अध्यक्ष नेपालले असल उद्देश्यका निम्ति गरिएको काममा आत्तिनुपर्ने आवश्यकता नरहेको बताए । उनले आफूबाट कुनै भ्रष्टाचारजन्य कार्य नभएको दाबी गरे । विचार र मन मिलेन भन्दैमा शत्रुता राख्न नहुनेमा उनले जोड दिए । नेपालको राजनीतिमा हाम्रो पार्टीको भूमिका महत्त्वपूर्ण रहेको छ । हाम्रो पार्टीको भूमिकालाई देखेर कतिपय व्यक्तिहरू आत्तिएका छन् । आतंकित भएका छन् । पूर्वाग्रह राखेर बसेका छन् । बदलाको भावनाले उनीहरूलाई पोलिरहेको छ । त्यसैको एउटा उदाहरण भर्खरै तपाईंहरूले सुन्नुभयो, ममाथि भ्रष्टाचारको मुद्दा लगाउनको लागि पहल भएको छ ।
भ्रष्टाचारको केस । निर्णयको आधार चाहिन्छ । माधव नेपालले कसैसँग एक रुपैयाँ घुस लिएको भए, एक दाम जग्गा घुस लिएको भए, अनुचित काम गरेको भए, देश र जनतालाई नोक्सान हुने कुनै काम गरेको भए त्यसको सम्पूर्ण जिम्मेवारी म लिन तयार छु । मैले भन्ने गरेको छु, नबिराउनु, नडराउनु । जब कुनै कुत्सित मनसाय छैन, निजी स्वार्थबाट कुनै काम भएको छैन भने, आफ्नो फाइदा र लाभको लागि कुनै काम गरेको छैन भने आत्तिनुपर्ने आवश्यकता छैन । सबै गलत कुरा, आरोपको विरुद्धमा दृढताका साथ उभिनेछु । मलाई विश्वास छ, न्यायपालिकाले न्याय दिनेछ । न्यायको जित हुनेछ । न्यायको जित हुनुपर्दछ । अन्यायको हार हुनुपर्छ । न्यायालयमाथि विश्वास राखेर नै हामी सबै देशमा कानुनको शासनलाई अघि बढाउन चाहिरहेका छौँ । यो चुनौती आइलागेको छ, यो चुनौतीको सामना गर्ने हो । कोही मानिसहरू मैदान छोडेर चुनौती देखेपछि भाग्छन्, आत्तिन्छन्, हामीले मैदान छोड्ने होइन ।