रास्वपाले भिजिट भिसा प्रकरणमा आफ्नो अडान कायम राख्यो
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भिजिट भिसा प्रकरणमा आफ्नो अडान कायम राखेको छ ।
सोमबार बिहान सत्तारूढ दल नेपाली कांग्रेसका नेताहरुसँगको छलफलमा रास्वपाले गृहमन्त्री रमेश लेखकको राजीनामा र भिजिट भिसा प्रकरणको छानबिनका लागि समिति गठनको अडानमा कायम रहेको हो । छलफलमा कांग्रेसबाट उपसभापति पूर्णबहादुर खड्का र रास्वपाबाट उपसभापति डा. स्वर्णिम वाग्लेले छलफल गरेका थिए । सदनको अवरोध खुलाउनको लागि विपक्षीहरु लचिलो बनेको भनिएपनि रास्वपाको अडान कायम रहेपछि आज पनि संसदको अवरोध हट्ने बारे अन्योलता बढेको छ ।
आइतबार प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भाषा मिलाएर सहमति गरिने दाबि गरेका थिए । स्रोतका अनुसार रास्वपाले जेठ २८ गते सर्वोच्च अदालतमा हुने संबैधानिक आयोगका पदाधिकारी बारेको फैसलासम्म संसदको अवरोध कायम राख्ने रणनीतिमा रहेको बताइएको छ ।