ओली र विद्याको रोचक द्वन्द्व
प्रधानमन्त्री खड्गप्रसाद ओली र पुर्वराष्ट्रिपति विधादेवी पाण्डे (भण्डारी) बिचको द्वन्द्वले सत्तारुढ दल नेकपा (एमाले) गंभिर सङ्कटमा परेको छ । चौतर्फी अलोकप्रियताका बाबजुद ओली पार्टी अध्यक्ष र प्रधानमन्त्री पदलाई निरन्तरता दिन चाहन्छन् । तर पार्टीभित्र उनको प्रताडना बेहोरिराखेको तप्का भने विकल्प खोजिरहेको छ ।
एमालेभित्र युवा पुस्ताको भरपर्दो विकल्प नभेट्टाएकाले पुर्वराष्ट्रपति विधा भण्डारी जो मदन भण्डारीकी विधवा पनि हुन । उनलाई नेतृत्वको विकल्पको रूपमा अघि सार्न चाहन्छ । तर राष्ट्रपतिको कार्यकालमा भण्डारीले गरेको काम र तिनका क्रियाकलापले गर्दा जनस्तरमा उनको छवि भने राम्रो छैन । भण्डारीका राष्ट्रपति हुँदा अनेक साना ठुला काण्ड छन् । जसले उनलाई बदनाम गराएका थिए । सधैँ पदमा रहन चाहने भण्डारी तेश्रो कार्यकाल पनि राष्ट्रपति बन्न चाहन्थिन तर एमालेसँग उनलाई पुनः राष्ट्रपति निर्वाचित गर्ने बहुमत थिएन । यदि, आफू पुनः राष्ट्रपति बन्न नपाउने हो भने एमाले अध्यक्ष बन्ने भनेर उनले बहिर्गमनताका नै सन्देश दिइसकेकी थिइन । आफू राष्ट्रपति हुँदै उनले शीतल निवासलाई एमालेको गुटबन्दी गर्ने र आफ्नो गुटको अखडा बनाउने काम गरिरहेकी थिइन् । त्यो कुरा ओलीलाई पनि राम्रैसँग थाहा थियो तर ओली भने विधालाई नचिढ्याईकन आफ्नो स्वार्थ पुरा गर्न चाहन्थे । विधाको राष्ट्रपति कार्यकाल समाप्त हुनसाथ उनी खुल्ला रूपमा पार्टी कार्यकर्ताका स्तरमा ओर्लिएर काम गर्न थालिन ।
यही बिचमा उनी चीन भ्रमणमा गइन र चीनबाट आर्सीवाद लिएर गाउँ गाउँ जान थालेपछि चाहिँ उनको पक्षमा केही नेताहरू खुल्न थालेका छन् । ती नेताले पार्टी विधानको हबला दिँदै ७० बर्से उमेर र दुई कार्यकाल कार्यकारी प्रमुखको कुरा उठाएका छन् । त्यसरी कुरा उठाउनेमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, युवराज ज्ञवाली आदि छन् । अहिले युवा पीडितका नेताहरू महेश बस्नेत विद्याको विपक्षमा खरो रूपमा प्रस्तुत भएका छन् । कर्ण थापा, गोकुल बास्कोटा समेतका विद्याको पक्षमा खडा भएका छन् । ओलीले सम्पूर्ण पार्टी संयन्त्र, राज्य शक्तिको प्रयोग गरेर विद्यालाई रोक्ने जमर्को गरिरहेका छन् । अब उनले सामाजिक सञ्जाल प्रयोगकर्तालाई पनि कडा जवाफ दिन निर्देशन जारी गरेका छन् । त्यसको सङ्केत देखिई पनि सकेको छ । पार्टीलाई सम्पूर्ण रूपमा एक ढिक्का पारेर विपक्षीसँग भिड्नु पर्ने वेलामा पार्टीभित्रै चुनौती आएको महसुस ओलीले गरेको बताइन्छ । ओलीको काम गर्ने शैलीले उनी पार्टी बाहिर जस्तै पार्टीमा पनि अलोकप्रिय छन् । आफ्नो विरोधीलाई समाप्तै पारिहाल्ने स्वभाव भएका ओली लोकतान्त्रिक विधि र प्रक्रियालाई होइन टिके प्रथा मा विश्वास राख्छन् । युवासंघ, अनेरास्ववियु लगायतका जनवर्गिय सङ्गठनलाई चुनावी प्रक्रियामा प्रवेशै गर्न नदिन उनले निकै कोसिस गरे । तर त्यसमा पनि उनी सफल बन्न सकेन । २०४६ सालको आन्दोलनपछि प्रजातान्त्रिक बाटोमा हिँड्न थालेको एमालेलाई कम्युनिस्ट पद्धतिको कठोर मार्गमा फर्काउने जमर्को ओलीले पटक पटक गरेका छन् । उनले पार्टी महाधिवेशनमा नेतृत्व चयन गर्दा मनोनयनको उपायबाट गर्न खोजेका थिए । त्यसमा पनि सफल भएनन् ।
भीम रावल घनश्याम भुसालहरू ओलीको चुनौती बने । अब आगामी भदौमा हुने विधान अधिवेशनमा आफू अनुकूल विधान ल्याएर अकण्टक राज गर्ने उनको चाहना छ । उनले दुई कार्यकाल र ७० बर्से उमेरहरूको प्रावधान समेत हटाएर ०८२ सालभित्रै हुने पार्टी महाधिवेशनमा तेश्रो कार्यकालका लागि अध्यक्ष चुनिने योजना बनाएका छन् । विद्या भण्डारी र ओलीको लडाँईले एमालेको युवा पुस्ता थप सङ्कटमा परेको छ । चाकर्डीबाट मात्र सत्ता प्राप्त हुन्छ भन्ने ठान्ने शङ्कर पोख्रेल, प्रदीप ज्ञवालीहरू पनि सङ्कटमा पर्दै गएका छन् । अनेक काण्डमा परेका र शक्तिकेन्द्रको आर्सीवादले जोगिएका विष्णु पौडेलहरूको पनि भविष्य अन्योलग्रस्त बनेको छ । सुरेन्द्र पाण्डे, योगेश भट्टराई, गोकर्ण विष्टहरू आफैँ नेतृत्व सम्हाल्न तयार छैनन् । ओलीको विकल्प विद्या हुन नसक्ने कुरा त यसै पनि जगजाहेर छ । अहिले पुरानो, भ्रष्ट र परम्परावादी पुस्ताको नेतृत्वको विकल्प खोजिएको हो । पार्टीभित्र र बाहिर नयाँ पुस्ताको नेतृत्वको माग उठिरहेको वेला लोग्नेको नाममा सधैँ अवसर लुटिरहेकी विद्यालाई अघि सार्नु मूर्खता मात्र हुन्छ । विद्यामा न प्रगतिशील सोच र चिन्तन छ, न नेतृत्वको करिष्मामयी क्षमता छ, न त सङ्गठनलाई मिलाएर अघि लाने समझ छ । अरू केही नभए पनि उमेरले युवा भएको भए पनि जनताले चित्त बुझाउने बाटो हुन्थ्यो । पटक पटक परीक्षण भएर असफल भइसकेको ओली र विद्या एउटै पुस्ताका, उत्तिकै भ्रष्ट र नालायक पनि हुन । दुबैलाई मोज मस्ती गर्नुपर्छ र ऐयाशि जीवन शैली जिउनका लागि पद चाहिन्छ । राष्ट्र, जनता, पार्टी त तिनको स्वार्थ पुरा गर्ने साधन मात्र भएका छन् । यस्तो अवस्थामा विद्यालाई पार्टीमा स्थापित हुन सहज छैन । झन्डै एक दशक सक्रिय राजनीति र पार्टी जविनबाट बाहिर रहेकी उनलाई पार्टी भित्र आफ्नो शाखा बनाउन निकै गाह्रो छ । आफ्नो पदलोलुपता कै कारण उनले एक पटक पार्टी अध्यक्ष र प्रधानमन्त्री बन्ने सपना देखेकी हुन । तर, त्यसो गर्दा राष्ट्रप्रमुख र त्यसको पदीय गरिमामाथि समेत आँच आउने निश्चित छ । राष्ट्रपति भएको व्यक्ति अनावश्यक विवादमा पर्नु, व्यक्तिगत स्तरको गालीगलौजमा उत्रनु राम्रो होइन । नेपालको संविधानले राष्ट्रपति पदलाई आलङ्कारिक रूपमा निश्चित गरेको छ ।
कार्यकारी अधिकार मन्त्रिपरिषद्मा रहने र राष्ट्रपति चाहिँ विशुद्ध आलङ्कारिक रूपमा मात्र राष्ट्रप्रमुख रहने व्यवस्था छ । त्यस हिसाबले राष्ट्रपति विवादभन्दा माथि रहने परम्परा हो । तर, विद्याले त राष्ट्रपति रहँदै पनि पदीय गरिमा बचाउनतिर ध्यान दिइनन् । उनले राष्ट्रपति निवास र कार्यालयमा पार्टीको मिटिङ गर्ने, फुटको वेला पार्टी भित्रको विवाद मिलाउन खोज्ने काम खुलेआम गरिन सधैँ पदको धमास दिने, पैसा र पावर को पछि लाग्ने विद्या अव ओलीसँगको प्रतिस्पर्धामा कुनरुपमा आउँछिन् त्यो हेर्न बाकी छ ।