पाठकविरुद्धको पक्राउ पुर्जी खारेज गर्न सम्पादकहरूको माग

काठमाडौं । विभिन्न सञ्चारमाध्यमका सम्पादकहरूले पत्रकार दिलभूषण पाठकविरुद्धको पक्राउ पुर्जी खारेज गर्न माग गरेका छन् । शनिबार (जेठ ३१) संयुक्त विज्ञप्ति जारी गर्दै उनीहरूले विद्युतीय कारोबार ऐनजस्तो फरक उद्देश्यले बनाइएको कानुन प्रयोग गरेर पक्राउ पुर्जी जारी गरिएकामा आपत्ति प्रकट गरेका छन् । फरक उद्देश्यका लागि बनेको कानुनका दफा दुरुपयोग गरी सत्ताको बलमा प्रहरी परिचालन गरेर पत्रकार पक्राउ गर्न खोज्नु खेदजनक हो, विज्ञप्तिमा भनिएको छ, यसअघि पनि कानुनको यस्तो दुरुपयोग हुँदै आएको छ । पत्रकारले प्रकाशन वा प्रसारण गरेका हरेक सामग्रीको जवाफदेहिता व्यहोर्नुपर्नेमा पनि आफूहरू प्रस्ट रहेको सम्पादकहरूले उल्लेख गरेका छन् । यसर्थ, विचार तथा अभिव्यक्ति स्वतन्त्रता जोडिएका विषयमा तत्सम्बन्धी कानुनले गरेको व्यवस्था पालना गर्न राज्यको ध्यानाकर्षण गराउँदै हामी दिलभूषण पाठकविरुद्धको पक्राउ पुर्जी खारेज गर्न माग गर्दछौँ, विज्ञप्तिमा भनिएको छ । विज्ञप्तिमा अगाडि उल्लेख छ, सँगसँगै अभिव्यक्ति स्वतन्त्रताजस्तो मौलिक हकलाई खुम्च्याउने गरी विद्युतीय कारोबार ऐनमा राखिएका गलत प्रावधान संशोधन गर्ने प्रक्रियामा लैजान पनि सरकार र संसद्को ध्यान आकर्षित गर्न चाहन्छौँ ।

सम्पादकहरूले बिजमाण्डु र नेपालखबर डटकमसहितका अनलाइन न्युज पोर्टलमा प्रकाशित समाचारका विषयमा काठमाडौं जिल्ला अदालतका पछिल्ला आदेशप्रति पनि असहमति व्यक्त गरेका छन् । विज्ञप्ति जारी गर्नेमा बाह्रखरीका प्रधानसम्पादक प्रतीक प्रधानसहितका सम्पादकहरू छन् । काठमाडौंको नक्सालस्थित होटेल हिल्टनमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र परराष्ट्रमन्त्री आरजु राणा दम्पतीपुत्र जयवीरको लगानी रहेको ‘रिपोर्ट पाठकले आफ्नो युट्युब च्यानलमार्फत प्रसारण गरेका थिए । त्यसपछि जयवीरको उजुरीमा पाठकलाई पक्राउ गर्न प्रहरीले काठमाडौं जिल्ला अदालतबाट अनुमति पाएको छ । यस्तै, नेपाल धितोपत्र बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठले दायर गरेको मुद्दामा अदालतले बिजमाण्डु र नेपालखबरमा प्रकाशित समाचार ‘डिलिट गर्न आदेश दिएको थियो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *