उपस्थित हुन भन्दै दिलभूषण पाठकका नाममा साइबर ब्यूरोले सूचना जारी
काठमाडौं । नेपाल प्रहरीको साइबर ब्यूरोले कार्यालयमा उपस्थित हुन भन्दै पत्रकार दिलभूषण पाठकको नाममा सूचना जारी गरेको छ । पीडित ‘साइबर ब्यूरो ५९’को जाहेरीले सरकार प्रतिवादी भएको विद्युतीय कारोबार ऐन, २०६३ अन्तरगतको कसुरमा पक्राउ अनुमति प्राप्त भएको भन्दै उपस्थित हुन सूचनामा भनिएको छ । जिल्ला अदालत काठमाडौंले दिएको पक्राउ पूर्जीविरुद्ध पाठकका तर्फबाट उच्च अदालत, पाटनमा निवेदन परेको थियो । त्यसक्रममा अदालतले दुवै पक्षलाई ५ असारमा छलफलका लागि बोलाउँदै अल्पकालीन अन्तरिम आदेश दिएको थियो । त्यसअघि उनलाई पक्राउ नगर्न अदालतले भनेको थियो । मंगलबार ब्यूरोको वेवसाइटमा सूचना जारी गर्दै उनलाई ब्यूरो वा नजिकको प्रहरी कार्यालयमा उपस्थित भएर अनुसन्धानमा सहयोग गरिदिन भनिएको छ । प्रहरीले यसअघि पक्राउ अनुमति जारी भएका कोही पनि व्यक्तिलाई उपस्थित भइदिन भन्दै सार्वजनिक सूचना जारी गर्ने गरेको थिएन । हिल्टन होटलसँग सम्बन्धित भिडियोमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका छोरा जयवीरलाई जाडेको भन्दै उनीविरुद्ध प्रहरीको साइबर ब्यूरोमा उजुरी परेको थियो ।
त्यसपछि प्रहरीले विद्युतीय अपराध ऐनको दफा ४७ अन्तरगतको कसुरमा पाठकलाई पक्राउ गर्न जिल्ला अदालत, काठमाडौंबाट अनुमति लिएको थियो । समाचारको विषयलाई लिएर विद्युतीय अपराधको कसुरमा पक्राउ अनुमति लिएपछि यसको व्यापक विरोध भएको थियो । शनिबार विभिन्न सञ्चारमाध्यमका ३५ सम्पादकहरुले सामूहिक विज्ञप्ति निकालेर ‘कानुनको दुरुपयोग गर्दै सत्ताको बलमा प्रहरी परिचालन गरेर पत्रकारलाई पक्राउ गर्न खोजिएको’ बताएको थिए । ‘विचार तथा अभिव्यक्ति स्वतन्त्रता जोडिएका विषयमा तत्सम्बन्धी कानुनले गरेको व्यवस्था पालना गर्न राज्यको ध्यानाकर्षण गराउँदै हामी दिलभूषण पाठक विरुद्धको पक्राउ पुर्जी खारेज गर्न माग गर्दछौं,’ जारी विज्ञप्तिमा भनिएको छ ।
