इजरायलबाट आक्रमण नरोकिएसम्म परमाणु कार्यक्रमबारे वार्ता नहुने इरानको चेतावनी
काठमाडौँ । इरानले आफूविरुद्ध आक्रमण भइरहेका बेला परमाणु कार्यक्रमका विषयमा वार्ता सुरु गर्न नसकिने बताएको छ । इजरायलका रक्षामन्त्रीले इरानसँग लामो संघर्षको चेतावनी दिएका बेला इरानबाट परमाणु कार्यक्रमसम्बन्धि हाल कुनै वार्ता सुरु हुन नसक्ने बताइएको हो । इरानका विदेशमन्त्री अब्बास अरागचीले इजरायलले इरानमाथि आक्रमण बन्द गरेपछि मात्र यस विषयमा इरानले विचार गर्न सक्ने बताएका छन् । अरागचीले इरानको परमाण कार्यक्रम पूरै तरिकाले शान्तपूर्ण कार्यक्रम रहेको दाबी गर्दै इजरायलको आक्रमण अन्तर्राष्ट्रिय कानुनविरुद्ध रहेको बताएका छन् ।
उनले भने, ‘हाम्रो क्षमतामा कुनै सम्झौता नहुने म स्पष्ट पार्न चाहन्छु ।’ यता इजरायली सेनाका चीफ अफ स्टाफ इयाल जमीले एक भिडियो सन्देश जारी गर्दै इजरायल लामो लडाइँका लागि तयार हुनुपर्ने र आगामी दिन अझ कठिन हुने बताएका छन् । इरानी विदेशमन्त्री अब्बासले शुक्रबार जेनेभामा युरोपिय नेताहरुसँग भेटघाट गरेका छन् । भेटमा युरोपिय नेताहरुले इरानले अमेरिकासँग परमाणु कार्यक्रमलाई लिएर फेरि वार्ता गर्नुपर्ने अनुरोध गरेका थिए । दुवै देशबीच संघर्ष जारी छ । इजरायली सेनाका अनुसार इरानको मिसाइल क्षेत्रमा एक ठूलो आक्रमण गरिएको छ ।