चौधरीविरुद्ध चेक अनादरको जाहेरी फिर्ताको पत्र जिल्ला प्रहरी कार्यालय दाङमा

काठमाण्डौं । प्रतिनिधिसभा सदस्य एवं नेकपा एकीकृत समाजवादीका प्रमुख सचेतक मेटमणि चौधरीविरुद्ध चेक अनादरको जाहेरी फिर्ताको पत्र जिल्ला प्रहरी कार्यालय दाङ पुगेको छ । रोल्पाका धात बुढामगरलाई चौधरीले ५ करोड ४० लाख रुपैयाँको चेक काटेका तर नसाटिएको भन्दै साउन ६ गते प्रहरीमा हुलाकबाट जाहेरी दिएका थिए । उनै बुढाले आइतबार दिउँसो हुलाकबाट चेक अनादरको जाहेरी फिर्ताको पत्र पठाएका र प्राप्त भएको दाङ प्रहरी प्रमुख एसपी अर्जुन तिमिल्सिनाले बताए । ‘सुरुमा आएको उजुरी र आज उजुरी फिर्ताको पत्र दुबै सक्कली हुन् होइनन् सनाखत गरेर मात्र यकिन गर्न सकिन्छ’, एसपी तिमिल्सेनाले भने, ‘उजुरीबारे सनाखत गर्न बोलाएको उहाँ आउनुभएन, हामी उहांलाई ल्याएर सनाखत गराउंछौं त्यसपछि सत्य के हो थाहा हुन्छ ।’

चौधरीविरुद्ध जाहेरी आएपछि बुढामगरलाई प्रहरीले रकमको स्रोत उल्लेख गर्न पटक–पटक ताकेता गरेको थियो । तर उनी प्रहरी कार्यालय आएका छैनन् । चौधरीले बुढामगरलाई एभरेष्ट बैङ्कको खाताबाट २०८१ पुस २६ गते चेक हस्ताक्षर गरेर दिएका थिए । तर उक्त चेकमा चौधरीको हस्ताक्षर फरक परेको थियो । तीन पटकसम्म चेक नसाटिएपछि बुढामगरले बैकिङ नियमअनुसार चेक बाउन्सको सात दिनको सूचना निकाल्न निवेदन दिएका थिए । पुर्ख्यौली घर रोल्पा भए पनि हाल घोराहीमा बसेर निर्माण व्यवसाय गरिरहेका बुढामगरलाई सांसद चौधरीले भान्जा साइनो लगाउने गरेका छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *