‘प्रि–स्कुल पाठ्यक्रम’ नेसनल प्याब्सनलाई हस्तान्तरण

काठमाडौं । काठमाडौं विश्वविद्यालय स्कूल अफ एजुकेसन (केयूएसओइडी) र राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (नेसनल प्याब्सन)को सहकार्यमा तयार गरिएको ‘प्रि–स्कुल पाठ्यक्रम’ नेसनल प्याब्सनलाई औपचारिक रूपमा हस्तान्तरण गरिएको छ । काठमाडौँमा एक कार्यक्रम आयोजना गर्दै काठमाडौँ विश्वविद्यालयका डिन प्राडा.बालचन्द्र लुइँटेलले पाठ्यक्रम नेसनल प्याब्सनकी केन्द्रिय अध्यक्ष गीता राणा क्षेत्रीलाई हस्तान्तरण गरेका हुन् । कार्यक्रममा अध्यक्ष क्षेत्रीले देशभरका प्रि–स्कुलहरू आ–आफ्नै शैलीमा सञ्चालन हुँदै आएको बताउँदै अब साझा पाठ्यक्रमले शिक्षामा समानता ल्याउने बताइन् ।

सोही क्रममा काठमाडौँ विश्वविद्यालय स्कूल अफ एजुकेसनअन्तर्गत प्रारम्भिक बाल शिक्षा तथा व्यावसायिक अध्ययन विभागकी प्रमुख डा.पार्वती ढुङ्गानाले पाठ्यक्रम निर्माणको काम शिक्षा वैज्ञानिक, नीति निर्माताहरू, विद्यालय सञ्चालक र शिक्षकहरूबीचको समन्वय र साझा प्रयासबाट मात्र प्रभावकारी हुन सक्ने बताइन् । उनले विश्वविद्यालय र नेसनल प्याब्सनबीचको सहकार्यले निजी क्षेत्रलाई समेत शैक्षिक सुधारको साझेदार बनाएको पनि बताइन् । यस्तै, काठमाडौं विश्वविद्यालयका डिन प्रा.डा.बालचन्द्र लुइँटेलले शिक्षा संस्थाहरूले डिग्री वितरण गर्ने मात्र होइन सामाजिक रूपान्तरणको लागि प्रेरणादायी भूमिका पनि खेल्नु पर्ने बताए । उनले नेपालको शिक्षाले सिमित पाठ्यपुस्तकबाट बाहिर निस्केर सृजनशील, समावेशी र बालमैत्री सिकाइतर्फ अघि बढ्नुपर्ने पनि बताए । कार्यक्रममा नेसनल प्याब्सनका पूर्वअध्यक्षहरू पण्डव हमाल, ऋतुराज सापकोटा लगायतको उपस्थिति रहेको थियो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *