बालमन्दिरका पूर्वमहासचिवलाई ५ लाख धरौटीमा छाड्न आदेश
काठमाडौं । नक्सालस्थित नेपाल बाल संगठनको जग्गा सस्तोमा भाडामा दिएर ठगी गरेको प्रकरणका फरार आरोपी गणेशभक्त श्रेष्ठ अदालत हाजिर भएका छन् । प्रहरीले प्रतिवादी बनाएर २७ वैशाख २०८१ मा मुद्दा दायर गरेकामध्येका श्रेष्ठ सोमबार हाजिर भएका हुन् । जिल्ला अदालत, काठमाडौंका न्यायाधीश गायत्रीप्रसाद रेग्मीको इजलासले उनलाई ५ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ । रेग्मी बालमन्दिरका पूर्वमहासचिव हुन् । चलनचल्तीभन्दा कम दरमा भाडामा दिएर ठगी गरेको भन्दै बाल संगठनका तर्फबाट प्रहरीमा जाहेरी परेको थियो । त्यसपछि अनुसन्धान गरेको सीआईबीले बालमन्दिरकी पूर्वअध्यक्ष रीतासिंह वैद्यसहितका पदाधिकारीहरुविरुद्ध पक्राउ पूर्जी लिएर अनुसन्धान गरेको थियो ।
प्रहरीले वृहस्पति विद्या सदनका अधिकारीहरुलाई समेत प्रतिवादी बनाएको थियो । । अनुसन्धानका क्रममा पदाधिकारीहरुले सम्झौता अवधि १७ वर्ष बाँकी छँदै पुनः थप ३८ वर्ष भाडामा दिने सम्झौता गरेको समेत भेटिएको थियो । नक्सालमा बाल संगठनको नाममा ११९ रोपनी १२ आना ३ पैसा जग्गा छ । त्यसमध्ये २८ रोपनी ५ आना १ पैसा जग्गा नेपाल बाल संगठनले बृहस्पति विद्यालय व्यवस्थापन प्रालि (बृहस्पति विद्या सदन) लाई भाडामा दिने सम्झौता गरेको थियो । बृहस्पतिलाई जग्गा भाडामा दिन २०४९, २०५३, २०५८, २०५९ र २०७२ सालमा गरी पाँच पटकसम्म सम्झौता भएको थियो । यो प्रकरण सतहमा आएपछि सम्झौता रद्द भएको थियो ।