संस्थाले गलत कार्य गरेका भए त्यसको जानकारी नियमनकारी निकायमा दिन रजिष्ट्रार ढुङ्गानाको आग्रह

काठमाण्डौं । सहकारी विभागका रजिष्ट्रार उमेश ढुङ्गानाले सहकारी महासंघ र केन्द्रीय संघहरुलाई आफ्नो भूमिका बढाउन निर्देशन दिएका छन् । विभागको आयोजनामा भएको राष्ट्रिय सहकारी महासंघ, केन्द्रीय संघहरु, सरोकारवाला निकायसँग सहकारी सम्बन्धी समसामयिक विषयक अन्तरक्रिया कार्यक्रमको समापनमा बोल्दै उनले संघहरुले भूमिका बढाउन आवश्यक रहेको बताएका हुन् । आफ्ना सदस्य संस्थाहरुलाई सघन रुपमा ‘वाच’ गर्न निर्देशन दिँदै उनले सहकारी मार्फत् भएका राम्रा कामको प्रचार गर्न र नराम्रा गतिविधिलाई रोक्न संघहरुको भूमिका महत्वपूर्ण हुने जनाए । कुनैपनि संस्थाले गलत कार्य गरेका भए त्यसको जानकारी नियमनकारी निकायमा दिन समेत उनले आग्रह गरे । संघ तथा महासंघले सहकारी क्षेत्रको सुदृढिकरणको लागि नीतिगत वकालत, सचेतना र संस्थाहरुको क्षमता विकासको काम गर्नुपर्ने उनको भनाई छ । केन्द्रीय संघहरुमा प्रारम्भिक संस्था सदस्य बन्ने र ऐनले समेत संघहरुलाई संस्थाहरुको विकास र प्रवर्धनका साथै नियमन गर्न सक्ने समेतको अधिकार दिएकाले संघहरुको भूमिका बढाउन आवश्यक रहेको उनको धारणा छ । उनले भने,‘ऐनले सबै केन्द्रीय संघहरुलाई आफ्ना संस्थाको अनुगमन तथा नियमन गर्ने अधिकार दिएको छ । संस्थाहरु मूल्य, मान्यता र सिद्धान्त अनुसार सञ्चालन भएका छन् छैनन्, त्यसको अनुगमन गरी संस्थाहरुको अवस्थाको वारेमा नियमनकारी निकायलाई जानकारी दिनेसम्मको अधिकार ऐनले दिएको छ । त्यसकारण संघ दर्ता गर्ने र चुप लागरे बस्ने नभई आफ्नो भूमिका बढाउनुस् ।’ संघ महासंघ मार्फत तालिम, शिक्षाका साथै नियमन तथा अनुगमनको काम अगाडि बढाउन रजिष्ट्रार ढुङ्गानाले आग्रह गरे । संघहरुसँग विभागले समन्वयकारी भूमिका खेल्दै आएको र आगामी दिनमा पनि सोही अनुसार अगाडि बढ्ने उनको भनाई छ । उनले ऐनमा ५ प्रकृतिको संघको परिकल्पना गरेको भएपनि आवश्यकता भन्दा बढी संघहरु दर्ता भएको समेत जनाए । सहकारी ऐन नियमले परिकल्पना गरेको निकायबीच छलफल तथा अनुभव साटसाट गरी आगामी दिन सहकारी क्षेत्रलाई व्यवस्थित गरेर लैजान यो कार्यक्रम आयोजना गरिएको उनले बताए । सहकारी महासंघ, बैंक र केन्द्रीय संघहरु विभागमा दर्ता भएको र सहकारी ऐनले प्रारम्भिक संस्थादेखि संघ महासंघको समेत परिकल्पना गरेको भन्दै उनले मुलुक संघियतामा गएपछि सहकारीको नियमक निकाय धेरै भएको जनाए । स्थानीय, प्रदेश र संघीय सरकारको नियमन क्षेत्रमा सहकारी गएको र तीन तहले सहकारीको अनुगमन गर्दा प्रभावकारी नभएको उनको बुझाई छ । सहकारी प्रशिक्षण तथा अनुसन्धान केन्द्रमा आयोजना गरिएको अन्तरक्रिया कार्यक्रममा सहकारी महासंघ, राष्ट्रिय सहकारी बैंक सहित १४ वटा केन्द्रीय संघहरुको सहभागिता रहेको थियो । उक्त कार्यक्रममा कर्जा सूचना केन्द्र, निक्षेप तथा कर्जा सुरक्षण कोष,नेपाल राष्ट्र बैंक र विभागबाट कार्यपत्र प्रस्तुत गरिएको थियो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *