सिटिजन्स सदाबहार योजना भोलिदेखि निष्कासनमा
काठमाण्डौं । सिटिजन्स म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने खुलामुखी योजना ‘सिटिजन्स सदाबहार योजना’ यही असार १३ गते (भोलिदेखि) सार्वजनिक निष्कासनमा आउँदैछ। सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड कोष प्रवद्र्धक र सिटिजन्स क्यापिटल लिमिटेड योजना व्यवस्थापक रहेको यस योजनाले कुल ५ करोड इकाई निष्कासन गर्ने तयारी गरेको छ। प्रतिकित्ता अंकित मूल्य १० रुपैयाँ कायम गरिएको यो योजनामा सिटिजन्स बैंकले ७५ लाख इकाई सुरक्षित राख्नेछ, भने बाँकी कम्तीमा ४ करोड २५ लाख इकाई सर्वसाधारणका लागि निष्कासन गरिनेछ। न्यूनतम १०० इकाईदेखि अधिकतम ५० लाख इकाईसम्मको आवेदन दिन सकिनेछ। इकाई निष्कासन छिटोमा १७ असार र ढिलोमा २७ असारसम्म खुला रहनेछ।
निष्कासन अवधिभर २ करोड ५० लाख इकाईभन्दा कममा आवेदन परेमा योजना खारेज गरी लगानीकर्ताको रकम फिर्ता गरिनेछ। मागभन्दा बढी आवेदन परेमा २५ प्रतिशत अतिरिक्त इकाई थप गरी अधिकतम ६ करोड २५ लाख इकाईसम्म बाँडफाँड गरिने व्यवस्था गरिएको छ। सिटिजन्स क्यापिटल लिमिटेडका अनुसार यो योजना धितोपत्र दोस्रो बजारमा सूचीकरण हुने छैन, तर अधिकृत संस्थामार्फत खरिद–बिक्री गर्न सकिनेछ। इकाई बाँडफाँड भएको तीन महिनापछि खरिद–बिक्री खुला गरिनेछ। उल्लेखनीय छ, सिटिजन्स क्यापिटलले यसअघि सफलतापूर्वक ७ वर्षे बन्दमुखी योजना ‘सिटिजन्स म्युचुअल फण्ड १’ संचालन गरिसकेको छ, जसले लगानीकर्तालाई औसत १२ प्रतिशत वार्षिक प्रतिफल दिएको थियो।