आफू विरुद्ध अभद्र कमेन्ट गर्ने विरुद्ध एलिना साइबर ब्युरोमा
काठमाडौँ । गायिका एलिना चौहान आफू विरुद्ध अभद्र कमेन्ट, म्यासेज गर्नेहरू विरुद्ध साइबर ब्युरो पुगेकी छन् ।
केही दिनदेखि सामाजिक सञ्जालमा अभद्र कमेन्ट गर्ने व्यक्तिहरूको प्रोफाइल सार्वजनिक गर्ने अभियान चलाइरहेकी उनी आज भने साइबर ब्युरोमा पुगेकी हुन् । उनले भने अनुसार चार जना विरुद्ध जाहेरी दिन लागेकी छिन् । साथै उनले अभद्र कमेन्ट गर्ने बाँकी व्यक्तिहरूलाई पनि जाहेरी दिँदै जाने कुरा बताएकी छिन् । चौहानका अनुसार कानुनी प्रक्रियामा गए पनि सामाजिक सञ्जालमा प्रोफाइल पर्दाफास गर्ने अभियान जारी राख्ने छिन् ।
पछिल्लो समय नेपालमा सामाजिक सञ्जालको दुरुपयोग गर्दै केही व्यक्तिले, अरूको व्यक्तिगत जीवनलाई नै नकारात्मक असर पर्ने खालका क्रियाकलापहरू गर्ने गरेका छन् । प्रधानमन्त्री देखि कलाकार र सर्वसाधारणलाई एक अर्काले सामाजिक सञ्जालको प्रयोग गर्दै नराम्रा टीकाटिप्पणी गर्दा सामाजिक सञ्जालको दुरुपयोग तीव्र गतिमा भइरहेको छ । यस विषयमा अन्यले खासै चासो नदेखाए पनि एलिनाले भने अब कानुनी प्रक्रिया जाने कुरा बताएकी हुन् ।