माछापुच्छ्रे बैंक “बिजनेस मोडेल इनोभेसन”मा प्लाटिनम अवार्डबाट सम्मानित
काठमाण्डौं । माछापुच्छ्रे बैंक लिमिटेडले अन्तर्राष्ट्रिय स्तरको “इन्फोसिस फिनाकल इनोभेसन अवार्ड २०२५” मा ‘बिजनेस मोडेल इनोभेसन’ विधामा प्लाटिनम अवार्ड जित्न सफल भएको छ । विश्वभरिका ३०० भन्दा बढी बैंकहरूले १० विधामा मनोनयन पठाएको उक्त अवार्डमा माछापुच्छ्रे बैंकले डिजिटल इनोभेसनमा देखाएको उत्कृष्ट कार्यको मान्यता स्वरूप यो सम्मान प्राप्त गरेको हो । इन्फोसिस फिनाकल इनोभेसन अवार्ड हरेक वर्ष विश्वका अग्रणी बैंकहरूलाई प्रविधिमा आधारित नवीनतम प्रयोग र प्रभावकारी सेवा प्रवाहका लागि प्रदान गरिन्छ । माछापुच्छ्रे बैंकले बैंकिङ्ग सेवामा आधुनिक प्रविधिको सशक्त उपयोग गर्दै शाखारहित सेवा, मोबाइल बैंकिङ, साइबर सुरक्षाको उच्च मापदण्ड र दिगोपनमा केन्द्रित रणनीतिहरूलाई लागू गर्दै आएको छ ।
बैंकले २५ वर्षको यात्रामा देशभर वित्तीय पहुँच विस्तार गर्दै १६५ शाखा, २०३ एटीएम र विविध डिजिटल सेवाहरू मार्फत आफ्नो सेवा प्रवाह गर्दै आएको छ । बैंकिङ्ग पहुँच नपुगेका क्षेत्रलाई डिजिटल माध्यमबाट सेवा दिन शाखारहित प्रणालीको विकासले पनि बैंकको कार्यक्षमतामा व्यापक सुधार ल्याएको छ । ग्राहकमैत्री सेवा, वित्तीय समावेशीकरणको विस्तार र डिजिटल रूपान्तरणमा देखाएको प्रतिबद्धता तथा लगातारको लगानीका कारण बैंकले ‘बिजनेस मोडेल इनोभेसन’ श्रेणीमा प्लाटिनम अवार्ड पाउने गौरव हासिल गरेको हो । यसले बैंकको अन्तर्राष्ट्रिय साख थप सुदृढ बनाएको छ ।