राइजिङ हाइड्रो, मुक्तिनाथ क्यापिटलसँग सहकार्य

काठमाडौं । राइजिङ हाइड्रोपावर प्रालिले सर्वसाधारणका लागि सेयर निष्कासन प्रक्रिया अघि बढाउने तयारीसँगै संस्थागत परामर्शदाताका रूपमा मुक्तिनाथ क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । यस सम्बन्धी दुई पक्षीय सम्झौता एक कार्यक्रमका बीच सम्पन्न गरिएको हो । सम्झौतापत्रमा राइजिङ हाइड्रोपावरका अध्यक्ष शंकरबहादुर घिमिरे र मुक्तिनाथ क्यापिटलका प्रमुख कार्यकारी अधिकृत कविन्द्रध्वज जोशीले हस्ताक्षर गरे । उक्त सम्झौताअनुसार मुक्तिनाथ क्यापिटलले कम्पनीको पूँजी संरचना पुनर्संरचना, प्रबन्धपत्रको उद्देश्यअनुसार सहजीकरण तथा सेयर निष्कासनसँग सम्बन्धित अन्य संस्थागत परामर्श सेवा प्रदान गर्नेछ । २०६२ साल फागुन २२ गते स्थापना भएको राइजिङ हाइड्रोपावर, नेपालको जलविद्युत क्षेत्रमा दिगो विकास र स्वदेशी स्रोतको प्रयोगमार्फत ऊर्जा उत्पादनमा समर्पित अग्रणी संस्था हो।

कम्पनीको प्रमुख आयोजना सिन्धुपाल्चोक जिल्लास्थित ९९० किलोवाट क्षमताको सेलाङ खोला साना जलविद्युत् आयोजना हो, जसले बर्सेनि ६.७७ गीगावाट विद्युत उत्पादन गरी राष्ट्रिय ग्रिडमा आपूर्ति गर्दै आएको छ । यस आयोजनाको व्यावसायिक सञ्चालन मिति (सीओडी) २०८१ भदौ २ गते रहेको छ । कम्पनीले २०८१ साल चैत्र २७ गते सम्पन्न वार्षिक साधारणसभाबाट प्राइभेट लिमिटेडबाट पब्लिक कम्पनीमा रूपान्तरण हुने र नाम परिवर्तन गरी ‘टेनेक्स हाइड्रो होल्डिङ लिमिटेड’ राख्ने प्रस्ताव पारित गरेको थियो। यसअनुसार नयाँ नामबाट कारोबार गर्न कम्पनी रजिष्ट्रारको कार्यालयमा निवेदन पेश गरिएको छ । राइजिङ हाइड्रोले आर्थिक वर्ष २०८२।८३ भित्र सर्वसाधारणलाई सेयर निष्कासन गरी चुक्ता पूँजी ४० करोड रुपैयाँ पुर्याउने लक्ष्य लिएको छ । साथै कम्पनीले पाँचवटा अन्य जलविद्युत परियोजनामा पनि लगानी विस्तार गर्ने रणनीति बनाएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *