शिक्षा समितिको बैठक स्थगित गर्ने प्रस्ताव
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले शिक्षा समितिको बैठक स्थगित गर्ने प्रस्ताव राखेका छन् ।
कांग्रेस सभापति शेरबहादुर देउवालाई भेटेर सिंहदरबार पुगेका शिक्षामन्त्री पन्तले बैठक स्थगित गर्ने प्रस्ताव समिति बैठकमा राखेका हुन् । शिक्षा समितिको बैठक बिहान ८: ३० बजेका लागि बोलाइए पनि विभिन्न विषयमा सहमति नजुट्दा दिउँसो ४ बजेपछि मात्र सुरु भएको छ । विद्यालय शिक्षा विधेयकका केही प्रावधानमा सहमति हुन नसक्दा बैठक ढिलाइ भएको हो ।
शिक्षक महासङ्घले असार १५ को समयसीमा तोकेर सडक आन्दोलन स्थगित गरे पनि अन्तिम समयमा सहमति जुट्न नसक्दा विधेयक जटिल बनेको छ । महासङ्घका नेताहरू सहमति कायम गर्न आइतबार बिहानै सिंहदरबार पुगेका थिए ।
आइतबार नै समितिबाट विधेयक पारित हुने अपेक्षा गरिए पनि केही विषयमा सहमति नहुँदा विधेयक अघि बढ्न सकेन । शिक्षक महासङ्घले दबाब बढाएपछि शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले सत्तारुढ दलका सभापति शेरबहादुर देउवासँग भेट गरेका हुन् ।