सुदूरपश्चिममा लगातार वर्षा, मुख्यमन्त्रीद्वारा उच्च सतर्कता अपनाउन आग्रह
काठमाडौँ । सुदूरपश्चिममा लगातार भारी वर्षा भएपछि त्यहाँका मुख्यमन्त्री कमलबहादुर शाहले सुरक्षा निकायहरूलाई उच्च सतर्कता अपनाउन र परिचालनका लागि तयारी अवस्थामा रहन निर्देशन दिएका छन् ।
‘भारी वर्षापछि लगातारको वर्षाका कारण कैलाली, कञ्चनपुर लगायत आसपासका क्षेत्रहरू जलमग्न भएका छन्’, मुख्यमन्त्री शाहले भनेका छन्– ‘बाढीबाट डुबान हुन सक्ने भएकोले विपत्तिको समयमा सुरक्षित भएर बस्नुहुन सर्वसाधारण सबैमा अनुरोध गर्दछु ।’ उनले सुरक्षा निकाय लगायत सम्पूर्ण मातहतका निकायहरूलाई विपद्को समयमा उच्च सतर्कता अपनाउन र परिचालनका लागि तयारी अवस्थामा रहन निर्देशन दिएका छन् ।
कैलालीका दर्जनौं स्थानमा बाढीले स्थानीय जनजीवन प्रभावित भएका छन्। सडक अवरुद्ध हुने, खेतीयोग्य जमिन जलमग्न हुने समस्या देखिएको छ।सुरक्षा निकाय र स्थानीय तहहरूले जोखिममा परेका नागरिकलाई सुरक्षित स्थानमा सार्न आपत्कालीन सतर्कता अपनाउँदै तयारी गरेका छन्।