त्रिविको छात्रावासमा सरसफाइ र व्यवस्थापन गए–गुज्रिएको
कीर्तिपुर । त्रिभुवन विश्वविद्यालयको कीर्तिपुरस्थित केन्द्रीय क्याम्पसको छात्रावासमै सरसफाइ र आधारभूत व्यवस्थापन गए–गुज्रिएको देखेपछि सांसदहरूले तत्काल सो अवस्था सुधार्न सम्बद्ध पदाधिकारीहरूलाई निर्देशन दिएका छन् ।
त्रिविको ईश्वरी कन्या छात्रावासअन्तर्गत ‘ङ’ ब्लकको भान्सा तथा पानीलगायतको प्रबन्धबारे अनुगमन गर्न बिहीबार अपराह्न कीर्तिपुर पुगेको प्रतितिधिसभा उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले त्रिविका प्राचार्यलगायतका पदाधिकारीलाई यस्तो निर्देशन दिएको हो । टोलीमा समितिका सभापति अब्दुल खानसहित सांसदहरू कान्तिका सेजुवाल, महेन्द्रबहादुर शाही, रेखा यादव, सूर्यमान दोङ, रणेन्द्र बराइली, रुक्मणी राणा बराइली, सीता मिजार, सपना राजभण्डारी, मङ्गलप्रसाद गुप्ता र खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका डा ईश्वर सुवेदी थिए ।
संसदीय टोलीलाई छात्राबास पुग्नासाथ भान्साको व्यवस्थापन देखाउँदै त्यहाँका विद्यार्थीले अत्यन्त फोहर भाँडाकुँडा प्रयोग गर्ने गरिएको, भान्साको सरसफाइको अवस्था दयनीय रहेको, भान्छाको टेबुल, बस्ने मेच आदि साधन अत्यन्त फोहर भएको देखाएका थिए । यसबारेमा बारम्बार गुनासो गर्दा प्राचार्यको कार्यालय, स्वतन्त्र विद्यार्थी युनियनका पदाधिकारी तथा अन्य सम्बद्ध निकायले बेवास्ता गरेको र कतिपय अवस्थामा छात्राबासका वार्डेन लगायतबाट उल्टै रुखो व्यवहार र हप्कीदप्की हुने गरेको बताएका थिए ।
‘पढ्न आएका हामीहरू समयमा मुख धुने पानीसमेत नपाए तनावमा पर्नुपर्यो, योसँगै भान्साको समेत समस्या बताउँदा वार्डेन म्यामलले ‘सरकारी होटलमा बसेपछि यस्तै हो, जे मिल्छ त्यसैले चलाउनु’, भन्नेसम्मको रुखो जवाफ दिनुभयो’, एमएस्सी तेस्रो सेमेष्टरकी छात्रा सविना रेग्मीले सांसद टोलीसमक्ष भनिन् । छात्राहरू रहने ठाउँमा पानी र सरसफाइ अनिवार्य हुनुपर्ने कुराप्रति त्रिविका पदाधिकारीहरू असंवेदनशील रहेको पनि उनले बताइन् ।
‘पानी अत्यन्त कम र त्यसमाथि पनि प्रयोग गर्न नै नमिल्ने गरी धमिलो पठाइयो । महिनावारी भएका बेलामा पनि एक जग पानीले सरसफाइ गर्नुपर्नेसम्मको कष्ट हामीले भोग्नुपर्यो’, अर्की छात्रा रोहना जोशीको भनाइ थियो । तत्काल समाधान गर्न सकिने र आपत परेको कुरा लिएर जाँदा पनि सरकारी काम हो समय लाग्छ, भन्ने जवाफ दिइने गरेको पनि उनले बताइन् । ससाना समस्या पनि समाधान नगरीदिँदा छात्राबासमा बिजुली वा अरु पूर्वाधार बिग्रेका अवस्थामा छात्राहरूले आफैँ पैसा उठाएर मर्मत गर्नुपर्नेसम्मको अवस्था सृजना गरिएको उनले बताइन् ।
त्रिवि स्ववियुका सभापति दीपकराज जोशीले त्रिवि पदाधिकारीहरूमा विद्यार्थी नरम स्वरले उठाएका कुरा बेवास्ता गर्ने र सोही कुरा दबाबमूलक ढङ्गले राखेपछि मात्र पूरा गर्ने प्रवृत्ति रहेकाले समस्या जटिल हुन गएको बताए । ‘शौचालय व्यवस्थापन गर्न राखिएको माग सुन्दै सुनिएन अनि त्रिवि प्रिन्सिपल कार्यालयको शौचालय बन्द गरेपछि बल्ल माग पूरा भयो’, उनले बताए ।