दोषी छ भने पनि कांग्रेस भएकै कारणले उसले उन्मुक्ति पाउनु हुँदैन : महामन्त्री थापा
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले भ्रष्टाचारीको जात, धर्म पार्टी केही पनि नहुने बताएका छन् । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा सोमबार महामन्त्री थापाले भ्रष्टाचारी केवल भ्रष्टाचारी मात्र हुने भन्दै उसले कुनै पार्टीको हुँदैमा उन्मुक्ति पाउनु नहुने बताए । कानुनी शासनमा विश्वास गर्ने हामीहरूले कोही निर्दोष पर्न हुँदैन, दोषी कोही छुट्नुहुँदैन भन्नुपर्यो, महामन्त्री थापाले भने, दोषी छ भने पनि कांग्रेस भएकै कारणले उसले उन्मुक्ति पाउनु हुँदैन ।
जारी केन्द्रीय समिति बैठकमा टेरामक्स प्रकरणमा भ्रष्टाचार मुद्दा लागेर २५ लाख धरौटीमा छुटेका मोहनबहादुर बस्नेतले आफूलाई फसाउन गगन थापाको भूमिका रहेको बताएका थिए । यस्तै, पूर्वउपसभापति गोपालमान श्रेष्ठले आइतबारको बैठकमा एमाले र माओवादीले भ्रष्टाचारका मुद्दामा जोडिएका आफ्ना नेतालाई जोगाए पनि कांग्रेसले जोगाउन नसकेको बताएका थिए । थापाले सबैका प्रश्नलाई एकमुष्ट जवाफ दिएका हुन् ।