मङ्गोलिया–जापानबीचको मित्रताको जापानी सम्राटद्वारा प्रशंसा
जापानका सम्राटको पहिलो राजकीय मङ्गोलिया भ्रमणका क्रममा राज दम्पतीले दोस्रो विश्वयुद्धको अन्त्यपछि नजरबन्द शिविरको अवलोकन गर्दै त्यहाँ मारिएका जापानी नागरिकको सम्झना गरेका छन् ।
जापान र मङ्गोलिया हालैका वर्षहरूमा नजिक भएका छन् । टोकियोको सहयोगले विशाल भूगोल र कम जनसङ्ख्या भएको देशको आर्थिक विकासलाई गति दिन मद्दत पुर्याएको छ । जापानका सम्राट नारुहितो र उहाँकी पत्नी साम्राज्ञी मासाको युद्ध अन्त्य भएको ८० औँ वर्षगाँठको उपलक्ष्यमा आठ दिने राजकीय भ्रमणमा मङ्गोलिया भ्रमणमा रहनुभएको छ ।
जापानले दोस्रो विश्वयुद्धको समयमा महाद्वीपीय एसियामा आफ्नो विस्तारको क्रममा मङ्गोलियामाथि आक्रमण गरेको थिएन तर मस्कोले द्वन्द्वको अन्त्यपछि हजारौँ जापानी युद्धबन्दीहरूलाई मङ्गोलियामा स्थानान्तरण गरेको थियो, जहाँ पूर्वाधार परियोजनाहरूमा काम गर्ने क्रममा लगभग एक हजार ७०० नागरिकको मृत्यु भएको विश्वास गरिन्छ । मङ्गोलियाको राजधानी उलानबातर नजिकैको दम्बादर्जामा टोकियोको आर्थिक सहयोगमा युद्धकैदीको चिहानमा निर्मित स्मारकमा मङ्गलबार दम्पतीले पुष्पगुच्छा अर्पण गर्नुका साथै एक मिनेट मौनधारण गरेका थिए ।
मङ्गोलियाका राष्ट्रपति उखना खुरेलसुखले आयोजना गरेको रात्रिभोजमा नारुहितोले दुई देशबीचको गहिरो मित्रता र सहयोगको प्रशंसा गर्नुभएको थियो । “मलाई आशा छ, अहिलेको युवा पुस्ता उनीहरूका पूर्ववर्तीहरूको मार्गको उत्तराधिकारी हुनेछन् र यस विशाल भूमिमा रोपिएका सहयोगका धेरै बीउहरू फुल्न दिनेछन्,” सम्राट नारुहितोले भन्नुभयो ।