स्पेन गएकाहरु को-को फर्किएका छैनन् सरकारलाई उपलब्ध गराउन गृहमन्त्रीको आग्रह
काठमाडौं । गृहमन्त्री रमेश लेखकले प्रधानमन्त्रीको स्पेन भ्रमणमा सहभागी भएकामध्ये को(को फर्किएका छैनन् भन्ने जानकारी सरकारलाई उपलब्ध गराउन सांसदहरूलाई आग्रह गरेका छन् ।
आज बुधवार प्रतिनिधिसभामा उठेका प्रश्नहरूको जवाफ दिँदै उनले प्रधानमन्त्रीको भ्रमण टोलीमा सहभागी हुने सदस्यहरूबारे मन्त्रिपरिषद्को निर्णय हुने स्पष्ट पारे । ‘प्रधानमन्त्रीको स्पेन भ्रमणमा सहभागी भएकामध्ये केही व्यक्ति उतै रहेको भन्ने कुरा उठेको छ,’ लेखकले भने, ‘हामीले यस्ता विषयमा न्यूनतम जानकारी राख्नुपर्छ र सम्मानित सदनमा जिम्मेवार र मर्यादित ढङ्गले कुरा राख्दा उपयुक्त हुन्छ।’
उनले भने , ‘प्रधानमन्त्रीको औपचारिक विदेश भ्रमणमा सहभागी हुने टोलीको मन्त्रिपरिषद्ले निर्णय गर्छ। म माननीय सांसदहरूलाई आग्रह गर्छु, भ्रमणमा गएका र फर्किन नसकेका व्यक्तिहरूको विवरण उपलब्ध गराइदिनुभयो भने सरकारलाई सहज हुन्छ।’