काग्रेसले जनताले दिएको मतलाई सदुपयोग गर्न नसकेको प्रचण्डको आरोप, अरु के-के भने ? (लाइभ)
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले सत्तारूढ नेपाली कांग्रेसले जनताले दिएको मतलाई जनताको पक्षमा काम गर्ने गरी सदुपयोग गर्न नसकेको आलोचना गर्दै लोकतान्त्रिक मूल्य र अभ्यासलाई कमजोर पार्ने दिशामा सरकारको कदममा साछि बन्न पुगेको आरोप लगाएका छन् ।
प्रतिनिधि सभाको बैठकमा बोल्दै प्रचण्डले कांग्रेस पनि स्वर्ग र नर्ककै गोलचक्करको पासोमा परेको र आफूलाई त्यसमै समर्पण गरेको टिप्पणी गरेका हुन् । उनले भने ’संसद्को सबैभन्दा ठूलो दल हो कांग्रेस। एकपछि अर्को स्वेच्छारिताका श्रृंखलाहरु जसरी अगाडि बढाइएका छन्, जसरी अहंकार र प्रतिशोधपूर्ण व्यवहार हाबी हुँदै गएको छ, यसबाट नेपाली कांग्रेस पनि स्वर्ग र नर्ककै गोलचक्करको पासोमा परेको र आफूलाई त्यसमै समर्पण गरेको देखिएको छ ।’
गत वर्ष विश्वासको मत दिने क्रममा गरिएको आफ्नै सम्बोधन स्मरण गर्दै प्रचण्डले अप्राकृतिक गठबन्धन, कुशासन र सत्ताका अहंकारी प्रवृत्तिले लोकतन्त्रलाई संकटमा पार्ने चेतावनी आफूले पहिल्यै दिएको बताए । उनले हालै देखिएका प्रतिगामी हर्कतहरू सरकारकै कमजोरी र असन्तुलनको परिणाम भएको उल्लेख गरे ।
सभामुख, उपसभामुख, राष्ट्रपति, उपराष्ट्रपतिको निर्वाचनमा सबै दलको प्रतिनिधित्व सुनिश्चित गर्नु आफुले मिहनेत गरेको स्मण गर्दै अध्यक्ष प्रचण्डले आफुले राष्ट्रिय राजनीतिमा खेलेको सकारात्मक भुमिकाको बेलाबेलामा अवमूल्यन हुने गरेको भन्दै असन्तुष्ट व्यक्त गरे । उनले थप्दै भने वर्तमान सरकारको कामले कांग्रेस–एमाले कै नेता कार्यकर्ता खुसी बन्न सकेको छैनन् । अप्राकृतिक गठबन्धनको औचित्यमाथि प्रश्न उठाउँदै सरकारसँग जनताको भरोसा र नैतिक धरातल अझै बाँकी छ कि छैन भन्ने गम्भीर प्रश्न उब्जिएको समेत बताए ।
प्रचण्डले भने, ’राज्यको स्रोत र साधन सीमित दलाल पुँजीपति र बिचौलियाले दोहन गरिरहेका छन्, जनतामध्ये को खुसी छ ?’ उहाँले पचासौँ हजार शिक्षक सडकमा उत्रिएको, राष्ट्रसेवकहरू कार्यालय बन्दको चेतावनी दिइरहेको, चिकित्सक आन्दोलनमा उत्रिनु परेको, सहकारी र मिटर ब्याज पीडितको समस्या झन् जटिल बन्दै गएको समेत बताए ।
उनले सरकारका गतिविधिबाट आम जनता मात्र नभई सत्तारूढ दलकै कार्यकर्ता समेत असन्तुष्ट भएको बताउँदै प्रधानमन्त्रीलाई प्रश्न गरे, ’यो एक वर्षमा तपाईँले कसको विश्वास जित्नुभयो ? कुन वर्ग लाभान्वित भयो ?’
उनले सरकारले भ्रष्टाचार, भागबन्डा, राजनीतिकरण, र विचौलियाको संरचना सृजना गरेर राज्यको आधिकारिक संयन्त्रलाई छायामा पार्ने प्रयास गरेको बताए । उनले विशेष गरी भूमिहीन सुकुमवासीका विषयमा उदाहरण दिँदै भने-’मेरो नेतृत्वको सरकारले यसै आर्थिक वर्षमा पाँच लाख भूमिहीन सुकुमवासीलाई जग्गाधनी प्रमाणपत्र दिने गृहकार्य अघि बढाएको थियो, तर अहिलेको दुई तिहाईको दम्भ बोकेको सरकारले भूमि आयोगका पदाधिकारी हटाउनु बाहेक केही गर्न सकेन ।’
प्रचण्डले सरकारका मन्त्रीहरू सरुवा तथा आयोग पदाधिकारी नियुक्तिमा खुलेआम लाखौंको डील गरिरहेको आरोप लगाउँदै प्रधानमन्त्रीप्रति व्यंग्य गर्दै भने- ’तपाईंका मन्त्रिहरू खुल्लमखुल्ला लाखौंको डील गरिरहेका छन्, प्रधानमन्त्रीज्यू, चित्रगुप्तलाई बयान कहाँ गएर दिने हो ?’
जहाँ सरकार, त्यहीँ भ्रष्टाचार र बेथिति भन्दै उनले विदेशसम्म प्रधानमन्त्रीले जाने हरेक स्थानमा विवाद सिर्जना भएको टिप्पणी गरे ।
लाइभ