प्रभु बैंकले नुवाकोटको मध्यताँदी जलविद्युत आयोजनामा ७१ करोड लगानी गर्ने

काठमाडौं । नुवाकोटको ताँदी खोलामा निर्माणाधीन ५.५ मेगावाट क्षमताको मध्यताँदी जलविद्युत आयोजनाका लागि आवश्यक लगानी जुटेको छ । दुप्चेश्वर महादेव हाइड्रो कम्पनीले प्रवर्द्धन गरिएको यस आयोजनाको कुल लागत १ अर्ब १० करोड रुपैयाँ अनुमान गरिएको छ । उक्तमध्ये ७१ करोड ४४ लाख रुपैयाँ लगानी प्रभु बैंकले गर्ने भएको हो । काठमाडौंमा आयोजना गरिएको लगानी सम्झौतापत्रमा आयोजनाका तर्फबाट अध्यक्ष अनिल जोशी र प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनको उपस्थितिमा परियोजना प्रमुख (प्रोजेक्ट हेड) दीपेश पोखरेलले हस्ताक्षर गरेका थिए ।

सम्झौता अनुसार आयोजनामा प्रभु बैंकको ६५ प्रतिशत र निर्माण कम्पनीको ३५ प्रतिशत लगानी रहनेछ । दुप्चेश्वर गाउँपालिका–६ मा आयोजना निर्माण कार्य सुरु भइसकेको प्राविधिक सल्लाहकार इञ्जिनियर सरोज खनालले जानकारी दिए । अहिले आयोजनामा सडक, आवास गृह लगायतको पूर्वाधार निर्माण कार्य भइरहेको छ । १५ महिनाभित्र आयोजना निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ । आयोजनाबाट उत्पादित विद्युत् ६ किलोमिटर लामो प्रशारण लाइनमार्फत नुवाकोटको समुद्रटार सवस्टेशनमा पुर्याइनेछ र त्यहाँबाट राष्ट्रिय प्रशारण प्रणालीमा जोडिनेछ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *