मन्त्री गुप्ता दोषी देखिए कारबाही हुन्छ- मन्त्री गुरुङ

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले गल्ती गर्नेलाई आँखा चिम्लिनुपर्छ भन्ने मनस्थितिमा सरकार नरहेको जिकिर गरेका छन् ।

बुधबार सिंहदरवारमा सञ्चारकर्मीलाई निवर्तमान संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताको अडियो प्रकरणबारे प्रश्नको जवाफ दिने क्रममा गुरुङले मन्त्रीले नैतिकताको आधारमा राजीनामा दिइसकेका र नयाँ मन्त्री पनि आइसकेको बताए । सरकारका प्रवक्ता समेत रहेका मन्त्री गुरुङले अब सरकारले अनुसन्धानको प्रक्रिया अघि बढाउने र दोषी देखिए कारबाही हुने बताए ।

तथ्य र सत्यमा आधारित भएर सरकार अघि बढ्ने उनको जिकिर छ । ‘प्रश्न उठेपछि नैतिकताको आधारमा राजीनामा दिने काम भइसकेको छ । हामी सबै भ्रष्टाचारमुक्त नेपाल चाहन्छौँ । त्यसका लागि भ्रष्टाचार अन्त्य होस् भन्ने चाहन्छौँ,’ उनले भने, ‘भ्रष्टाचारी मन्त्री होस् वा कुनै सचिव वा कोही पदाधिकारी जो भए पनि त्यसमाथि कारबाही हुनुपर्छ भन्ने हामी सबैको माग हो ।’

राजीनामा दिएका मन्त्रीमाथि छानबिन हुने उनले बताए । ‘यसमा छानबिन होला कि नहोला भन्ने प्रश्न छ । अघि बढ्दै जाला,’ उनले भने, ‘तथ्य र सत्यमा आधारित भएर सरकार अघि बढ्छ । त्यस्तो छ भने सरकारले आँखा चिम्लिनुपर्छ भन्ने कुरा रहँदैन ।’

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *