वन मन्त्रीको एक बर्षे कार्यकाल सन्तोषजनक
काठमाडौं । वन तथा वातावरणमन्त्री ऐन बहादुर शाही ठकुरीले आफ्नो एक बर्षे कार्यकाल सन्तोषजनक रहेको बताएका छन् ।
पत्रकार सम्मेलनमार्फत आफ्नो एक वर्षे कार्यकालको उपलब्धि सार्वजनिक गर्दै उनले प्रधानमन्त्री र पार्टीको सहयोगमा आफुले सहज रुपमा काम गर्न पाएको भन्दै एक बर्षे कार्यकाल सन्तोषजनक रहेको बताए । आफ्नो कार्यकालमा महत्वपूर्ण चारवटा रणनीति तयार गरि कार्यान्वयनमा ल्याइएको उनले बताए । त्यस्तै उनले सन २०२० सम्म ४५ दशमलव ३१ प्रतिशत रहेका वन क्षेत्र सरकार र समूदायद्वारा संरक्षण तथा व्यवस्थापन गरि ४६ दशमलव ०८ प्रतिशत पुगेको उल्लेख गरे ।
गत आर्थिक बर्ष ३ करोड क्युफिट उत्पादन भएको काठ चालू आर्थिक बर्षको जेठ मसान्तसम्म ३ करोड ३५ लाख क्युफिट उत्पादन भएको उनले बताए । काठको उत्पादनमा वृद्धि गरी काठमा देशलाई आत्मनिर्भर बनाउनको लागि समेत केन्द्रीत भएको उनको भनाई थियो ।
त्यस्तै मन्त्री ठकुरीले मानव वन्यजन्तु द्वन्द्व न्यूनिकरणका सन्दर्भमा समेत प्रभावकारी ढंगले काम भइरहेको उल्लेख गर्दै मन्त्रालयको बजेट संघीयता कार्यान्वयन भएपछिकै बढी १८ दशमलव ५ प्रतिशतले बृद्धि भएको बताए ।