आज देशका विभिन्न स्थानमा भारी बर्षा

काठमाडौं । देशका विभिन्न स्थानमा भारीदेखि अति भारी वर्षा भएको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार पछिल्लो १२ घण्टामा सबैभन्दा बढी कास्कीको लुम्लेमा १५१ मिलिमिटर वर्षा भएको छ । यस्तै, धनकुटामा १२१, सुनसरीमा १३०, इलाम माइपोखरीमा १२१ मिलिमिटर वर्षा भएको छ । यी चार स्थानमा अतिभारी वर्षा मापन भएको विभागले जनाएको छ ।

यस्तै, देशका अन्य जिल्लाहरुमा पनि भारी वर्षा भएको छ । पूर्वी नेपालमा बढी वर्षा भएको महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज मध्य र पश्चिम क्षेत्रमा भारी वर्षा गराउने प्रणाली सर्दै आएको छ । यो प्रणाली भोलिसम्म रहने र विस्तारै हट्दै जाने महाशाखाले जनाएको छ ।

विभागका मौसमविद् सञ्जिव अधिकारीका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा थोरै उत्तरतिर रहेको छ ।

यस्तै, गएको २४ घण्टमा सिन्धुपाल्चोक, कास्की, पर्वत, ओखलढुङ्गा, ताप्लेजुङ, पाँचथर, तनहुँ, खोटाङ, सोलुखुम्बु, सङ्खुवासभा, तेह्रथुम, म्याग्दी र झापामा भारी वर्षा भएको छ । अन्य केही पहाडी जिल्लाका पहाडी क्षेत्रमा पनि भारी वर्षा भएको विभागले जनाएको छ ।

महाशाखाले पर्वत जिल्लास्थित मोदीखोला जलमापन केन्द्रमा हालको जलसतह सतर्कता तह आसपास बढ्दो क्रममा रहेकाले नदी तटीय क्षेत्र आसपास बसोबास गर्नेहरूलाई सावधानी अपनाउन अनुरोध गरेको छ । आज बिहान इलामको कन्काइ मैनाचुलीमा पनि जलसतह सतर्कता तह आसपास पुगेको थियो भने सुनसरीको सार्दुल खोलामा पनि जल सतहले सतर्कता तह पार गरेको थियो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *