काठमाडौंसहित ४३ जिल्लामा एल्लो एलर्ट जारी
काठमाडौं । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले आज देशका विभिन्न जिल्लामा बाढी सम्भावना रहेको भन्दै सतर्क रहन आग्रह गरेको छ ।
महाशाखाले बुलेटिन जारी गर्दै काठमाडौंसहित ४३ जिल्लामा एल्लो एलर्ट जारी गरेको हो । आज ताप्लेजुङ, पाँचथर, तेह्रथुम, संखुवासभा, सोलुखुम्बु, रामेछाप, भोजपुर, खोटाङ, ओखलढुंगा, रसुवा, सिन्धुपाल्चोक, दोलखा, कास्की, पर्वत, म्याग्दी, बागलुङ, लमजुङ, रोल्पा, गुल्मी, डडेल्धुरा, कैलाली, कञ्चनपुर र आसपासका जिल्ला भई बहने ससाना नदीको बहाब उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिम हुने सम्भावना उच्च छ ।
साथै आज इलाम, झापा, धनकुटा, काठमाडौँ, ललितपुर, भक्तपुर, काभ्रेपलाञ्चोक, नुवाकोट, धादिङ, सिन्धुली, मकवानपुर, स्याङ्जा, गोरखा, दाङ, बाँके, सुर्खेत, बर्दिया, डोटी, अछाम, बैतडी, दार्चुला र आसपासका जिल्ला भई बहने ससाना नदीको बहाब उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिम रहेको छ ।
बाढी महाशाखाले यी ४३ जिल्लालाई एल्लो अलर्टमा राख्दै ती जिल्ला भइ बहने नदी तटीय क्षेत्रमा रहेका बासिन्दालाई सतर्कता अपनाउन भनेको छ ।