कांग्रेस-एमालेबीचको समझदारीमा दरार आउनसक्ने महामन्त्री शर्माको चेतावनी
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले निजामती सेवा विधेयकमा कुलिङ पिरियडको व्यवस्थालाई लिएर नेकपा (एमाले) ले राष्ट्रिय सभामा संशोधन प्रस्ताव राखेमा कांग्रेस र एमालेबीचको समझदारीमा दरार आउने चेतावनी दिएका छन् ।
प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिमा कर्मचारीको अवकाश वा राजीनामापछि दुई वर्षसम्म संवैधानिक र कूटनीतिक नियुक्तिमा रोक लगाउने कुलिङ पिरियडको सहमति भएको थियो । तर, प्रतिनिधि सभाबाट विधेयक पारित हुँदा यो व्यवस्था हेरफेर भएको विषय बाहिरिएपछि छानबिन समिति गठन गरिएको छ । समितिले राष्ट्रिय सभालाई पूर्वसहमति अनुसार कुलिङ पिरियड दुई वर्ष कायम राख्न आग्रह गरेको छ ।
राष्ट्रिय सभामा एमाले सांसदहरूले संशोधन प्रस्ताव दर्ता गराएपछि नेपाली कांग्रेसमा तरंग उत्पन्न भएको छ । आज आयोजित ४३औँ विपी स्मृति गोष्ठीमा बोल्दै शर्माले ‘राज्य व्यवस्था समितिबाट सर्वसम्मत पारित कुलिङ पिरियडको व्यवस्थालाई राष्ट्रिय सभामा संशोधन प्रस्तावमार्फत परिवर्तन गरेर दुर्घटनातर्फ लगिएमा कांग्रेस र एमालेबीचको समझदारीमा दरार आउनसक्ने बताएका हुन् ।