खतरनाक मोडमा विद्याको भविष्य
काठमाडौँ । प्रधानमन्त्री खड्गप्रसाद ओलीको दल नेपाल कम्युनिस्ट पार्टी (एकीकृत मास्कवादी लेनिनवादी– एमाले) भित्रको रडाको मन्थर भए जस्तो देखिए पनि अझैँ किनार लागेको भने छैन । पटक पटक विभाजन र एकीकरणको समस्याबाट गुज्रिएको एमाले भित्र पछिल्लो पटक फेरि ठुलो हलचल देखिएको छ । यो हलचलको कारण चाहिँ पूर्व राष्ट्रपति विद्यादेवी पाण्डे भण्डारी रहेकी छन् ।
भण्डारीले एमालेमा प्रवेश गरेर अध्यक्ष पद हत्याउने चाहना देखाएपछि वर्तमान अध्यक्ष एवं प्रधानमन्त्री खड्ग प्रसाद ओलीसँग उनको सिधा टक्कर परेको छ । प्रधानमन्त्री ओली र पूर्व राष्ट्रपति भण्डारीको द्वन्द्वको सिकार अहिले सिङ्गो पार्टी बन्न पुगेको छ । यो द्वन्द्वले कतै एमालेमा फेरि विभाजन त आउने होइन भन्ने त्रास उत्पन्न गरेको छ । यही भदौ २० देखि २२ गतेसम्म ललितपुरको गोदावरीमा हुने पार्टीको विधान अधिवेशनलाई लक्षित गरेर सक्रियता बढाएकी भण्डारीलाई राजनीतिमा आउन नै रोक्ने निर्णय सोमबार र मङ्गलवार बसेको केन्द्रीय कमिटी बैठकले गरिसकेको छ । पूर्व राष्ट्रपति दलीय राजनीतिमा सक्रिय हुने विषय अहिले विवादित बनेको छ । यही मेसोमा भण्डारी पनि परेकी छन् । त्यसो त यसअघि नै माओवादीले पूर्व उपराष्ट्रपति नन्दबहादुर पुनलाई माओवादीको केन्द्रीय समितिमा उपाध्यक्ष बनाइसकेको छ ।
घटनाक्रमले विद्यादेवी भण्डारीलाई पनि एमाले उपाध्यक्षमा झार्ने सम्भावना बढेकै वेला पार्टीले राष्ट्रपति भइसकेको व्यक्ति दलीय राजनीतिमा फर्कनु उचित नहुने निर्णय गरेर यो विषयलाई किनारा लगाइदिएको छ ।
के छ एमालेको योजना ?
मुलुकको राजनीति त्यसमा पनि सामाजिक सञ्जालमा अलोकप्रिय बनेका प्रधानमन्त्री ओलीलाई नै पुनः एमाले नेतृत्व सुम्पने योजना सो पार्टीको छ । त्यही अनुरूपको गृहकार्य विधान अधिवेशनमा पनि भइरहेको छ । ७० वर्ष पुरा भएपछि पार्टीको कुनै कार्यकारी पदमा बस्न नपाउने र दुई कार्यकाल भन्दा बढी कुनै कार्यकारी पदको जिम्मेवारी लिन नपाउने एमालेको विधानले गरेको व्यवस्थालाई हटाएर ओलीलाई तेस्रो पटक अध्यक्ष हुने बाटो खुला गरिदिने गरी अधिवेशनमा पेस गरिने मसौदा तयार पारिएको छ । अध्यक्ष ओली अहिले ७४ वर्ष पुगेका छन् र उनले एमालेमा दुई पटक अध्यक्ष खाइसकेका छन् । वर्तमान विधान अनुसार उनी एमाले अध्यक्ष बन्न पाउँदैनन् । तर पार्टीले उनलाई अध्यक्ष बनाउन जरुरी देखेर विधानको त्यो अवरोध हटाउने तयारी गरेको छ । त्यही अनुसारको मसौदा केन्द्रीय समितिमा प्रस्तुत भएको छ र त्यो अनुमोदन पनि भइसकेको छ ।
विद्याको महत्वकांक्षा :
मदन भण्डारी जीवित रहँदा सम्म विद्याको हैसियत पार्टीमा केही थिएन । उनी विशुद्ध गृहिणी थिइन् । मदन भण्डारीका पाहुनालाई चिया पकाएर खुवाउने र दुई छोरीको रेखदेख गर्ने उनको जिम्मेवारी थियो । विद्यार्थी कालमा पनि उनले पार्टी र जनवर्गिय सङ्गठनमा कुनै महत्त्वपूर्ण जिम्मेवारी पुरा गरेकी थिइनन् । महेन्द्र मोरङ बहुमुखी क्याम्पसको एक कार्यकाल कोषाध्यक्ष बन्नु बाहेक उनले पार्टीको कुनै खुला र भूमिगत सङ्गठनको जिम्मेवारी लिएकी थिइनन् । २०५० साल जेठमा एउटा दुर्घटनामा मदन भण्डारी र उनका सहयात्री जीवराज आश्रितको मृत्यु भयो । त्यो घटनालाई एमालेले अतिरञ्जित ग¥यो र भण्डारीको खाली भएको चुनाव क्षेत्रमा उनकै श्रीमती विद्यादेवी पाण्डेलाई अघि सा¥यो । मदन जीवित छदाँसम्म माइतीको पाण्डे थर लेख्दै आएकी विद्यालाई रातारात भण्डारी बनायो र सेतो सारी लगाइदिएर चुनावी मैदानमा उतारियो । त्यहीबाट सुरु भएको हो विद्याको सत्ताको सिँढी चढ्ने यात्रा । त्यसपछि उनमा अति महत्त्वाकाङ्क्षा सवार भयो । उनले जनता र अरू पार्टीका कार्यकर्तालाई मात्र होइन एमालेकै तल्लो स्तरका कार्यकर्तालाई पनि गन्न छाडिन । अहिले पनि उनले आफूलाई महान् ठान्छिन्, एमालेलाई आफ्नो पतिले आर्जन गरेकोले आफ्नै सम्पत्ति हो भन्ने ठान्छिन् ।
मदनको मृत्युपछि उनको खाली भएको सिटमा सांसद भइन, पार्टीको केन्द्रीय कमिटी सदस्य भइन्, महिला सङ्घको अध्यक्ष भइन, दुई कार्यकाल पार्टी केन्द्रीय कमिटी उपाध्यक्ष भइन पटक पटक मन्त्री बनिन् । र, ओलीको कृपा पाएर दुई कार्यकाल राष्ट्रपति बनिन् ।
के छ त उनको योजना ?
राष्ट्रपति भएको मान्छे विना योजना, विना कार्यक्रम फेरि पार्टीको अध्यक्ष बन्न खोज्नुको कारण के हो ? किन उनी मरिहत्ते गरेर एमाले अध्यक्ष हत्याउन खोजिरहेकी छन् । त्यसको रहस्य भने खुल्न सकिएको छैन । उनले एमालेको सदस्यता राष्ट्रपति भएपछि लगतै परित्याग गरेकी थिइन् । सार्वजनिक रूपले नै परित्याग गरेको सदस्यता फेरी कसरी नवीकरण भयो र देशको राष्ट्रपति बनिसकेकी व्यक्ति फेरि एमालेको चौवन्नी सदस्य बन्न कुन स्वार्थले काम गरेको छ ?
अहिले हेर्दा न देशको लागि न त आफ्नै पार्टीको लागि केही गर्ने योजना उनीसँग छ । उनी विलक्षण क्षमता भएकी, दूरदर्शी र समदृष्टि भएकी महिला पनि होइनन् । उनले एमाले नेतृत्व सम्हाल्नु पर्ने विशेष परिस्थिति र कारण केही छैन । राष्ट्रपति हुँदा उनले देखाएको हर्कतले त देशकै बेइज्जत गरेको थियो । शीतल निवासलाई आफ्नो गुटको कार्यालय बनाइन्, पार्टीको बैठक स्थल बनाइन्, जनकपुरमा अनावश्यक दमन गराइन् । सडकमा ताण्डव मच्चाइन्, कोरोना कालमा राष्ट्रपति कार्यालय र निवासमा डेढ करोडको घरायसी सजावट गराइन् । वीर अस्पताल अगाडि डाक्टरमाथि निर्ममतापूर्वक डाक्टर कुटाइन् । अनावश्यक भोज भतेरमा राज्य कोष उडाइन् र राज्यको हरेक नियुक्तिमा आफ्नो भाग खोजिन् ।
यसरी हेर्दा उनलाई योग्य, जिम्मेवार र एउटा राजनेता स्तरको राजनीतिक व्यक्तित्व भनेर स्वीकार गर्न सकिने कुनै आधार छैन । अहिले उनीमाथि सामाजिक सञ्जालको आक्रमण छ । उनको कार्यशैली र अभिव्यक्तिले पार्टीभित्र र बाहिर अनावश्यक विवाद खडा गर्ने गर्छ । यस्तो बेला एउटा कुनै स्वार्थी तत्त्वले विद्यालाई मोहरा बनाएर अघि सारेको छ । उनी एउटी ऐयाशी महिला हुन्, ऐयासमा त यी मिल्दा मार्काेसलाई समेत माथ गर्थिन भनेर नेपाली जनता भन्छन्, चोक चोकमा। तर उनको कहिल्यै स्वच्छ र पारदर्शी व्यवहार नेपाली समाजमा छैन, राजनीतिक चरित्र र संस्कार छैन । आफ्नै कुनै योजना र कार्यक्रम छैन ।
आफैँमाथि दोहोरियो :
कुनै समय नेकपा एमालेमा विद्या प्रभावशाली महिला नेतृ थिइन् । उनी अखिल नेपाल महिला सङ्घको अध्यक्ष थिइन् । कम पढेलेखेकी, पार्टी काम र अनुभव नभएकी, कमजोर अध्ययनका कारण उनी प्रतिस्पर्धा गर्न भने डराउँथिन् । त्यही समयमा कुनै बेला मसाल समूहमा काम गरेकी, पढेलेखेकी र सामाजिक काम र राजनीतिक क्षेत्रको अनुभव भएकी उर्मिला अर्याल एमालेमा पसेर सांसद भइन्, महिला नेता भइन् । उनी एमाले महिला सङ्घमा अध्यक्षमा प्रतिस्पर्धा गर्ने प्रचारसहित मैदानमा खडा भइन् । त्यस बेला विद्याले एमाले महिला सङ्घको अध्यक्ष थिइन् । उनले अर्याललाई महाधिवेशनमा भाग लिन नै नदिने गरी प्रतिनिधि चुनिन नै रोकिदिइन् । अहिले खड्ग ओलीले विद्यामाथि त्यही घटना दोहो¥याइदिए । आफ्नो कार्यकालमा उनले एमाले महिला सङ्घमा जस्तो दादागिरी चलाइन् ओलीले एमालेमा अहिले त्यस्तै दादागिरी चलाइरहेका छन् । भनिन्छ नि ‘कहिले सासूको पालो, कहिले बुहारीको पालो’ सबै कुरा हेर्दा विद्याले एमाले नेता बन्नु देश र जनताको हित गर्दिन त भन्नु मनासिब देखिँदैन । उनको पुनरागमनले एमाले सुध्रिन हुने आधार देखिँदैन ।
बरु तहसनहस नै हुन्छ । त्यस कारण विद्याले एमाले र आफ्नो हित हेरेर पूर्व राष्ट्रपतिकै रूपमा रहनु उचित हुन्छ । त्यसैमा उनको सम्मान र भलो छ । राष्ट्रमा नयाँ समस्या थप्न, अनावश्यक बखेडा झिक्न माहिर विद्यालाई बोक्ने शक्तिले पनि यो कुरा बुझ्न जरुरी छ ।