प्रतिनिधिसभा आजको बैठक- बिभिन्न विषयको सभामुखमार्फत् सरकारको ध्यानाकर्षण
काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले समयमा वर्षा नहुँदा खानेपानी तथा सिँचाइको अभाव भएका तराई–मधेशका जिल्लामा किसान लक्षित राहतका कार्यक्रम तत्काल घोषणा गर्न सदनमार्फत् सरकारको ध्यानाकर्षण गराएका छन् । बैठकमा सांसदहरूले किसानलाई विद्युत् महसुल छुटलगायत सुविधा उपलब्ध गराउन माग गरेका हुन् ।
बैठकमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का सांसद जनार्दन शर्माले सिँचाइ प्रयोजनका लागि प्रयोग हुने विद्युत्को महसुलमा सरकारले छुट दिनुपर्ने माग राखे। अव्यवस्थित विद्युतीय संरचनाका कारण बोरिङ तथा विद्युतीय पप्प चलाउँदा करेन्ट लागेर किसानले ज्यान गुमाइरहेका विषय पनि उनले संसद्मा उठाए।
लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका सांसद रामप्रकाश चौधरीले तराई–मधेशका जिल्लामा देखिएको खडेरीको समस्याबाट प्रभावित किसानका लागि तत्काल राहत तथा अनुदानको प्याकेज घोषणा गर्न सभामुखमार्फत् सरकारको ध्यानाकर्षण गराए ।
सांसद योगेन्द्र मण्डलले अहिले खडेरीले किसान आक्रान्त भइरहेका बेली उहाँहरूले पर्याप्त मात्रामा विद्युत् प्रयोग गर्न नपाएको विषय सदनमा उठाए । सिँचाइका लागि चाहिने विद्युत् प्रयोग गर्दा न्यून भोल्टेजका कारण समस्या हुने गरेको उनको भनाइ छ ।
जनता समाजवादी पार्टी (जसपा) नेपालका सांसद प्रकाश अधिकारीले जलवायु परिवर्तनका असर निरन्तर बढ्न थालेका उल्लेख गर्दै अहिले सरकारले संकटग्रस्त क्षेत्र घोषणा गरेका जिल्लामा विशेष राहतका कार्यक्रम ल्याउँनुपर्नेमा जोड दिए । बोरिङ सञ्चालन गर्दा विद्युत् कटौती हुने, ट्रान्सफर्मर चोरी हुनेलगायत समस्या आइरहेको उनले उल्लेख गर्दै। पानी नपरेका जिल्लामा खानेपानीको समस्या निरन्तर बढिरहेको उनले बताए ।
नेपाली कांग्रेसका सांसद सञ्जयकुमार गौतमले किसानले लगाएका धानबाली खडेरीका कारण सुक्न थालेका उल्लेख गर्दै सुख्खाग्रस्त सबै क्षेत्रको पहिचान गर्न र त्यहाँका किसानलाई राहत उपलब्ध गराउन आग्रह गरे ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले)का सांसद ईश्वरबहादुर रिजालले दोलखा जिल्लामा रहेको चुनढुङ्गा खानीलाई सिन्धुपाल्चोक जिल्लामा पर्ने भनी गलत प्रचार भइरहेको बताए। उनले चुनढुङ्गा खानी दोलखा जिल्लाको भीमेश्वर नगरपालिका–९ मा पर्ने स्पष्ट पारे ।
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का सांसद पूर्णबहादुर घर्तीमगरले रुकुम जिल्लाका अधिकांश स्थानीय सडकहरू वर्षात्को समयमा क्षतिग्रस्त भएका भन्दै सवारिसाधन सञ्चालनमा समस्या भइरहेको बताए। मध्यपहाडी राजमार्ग निर्माणमा भइरहेको ढिलाइबारे पनि उहाँले सरकारको ध्यानाकर्षण गरे। नेपाल वायुसेवा निगमको वाइडबडी विमान खरिद प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट कुनै निश्चित व्यक्ति लक्षित मात्रै मुद्दा दायर भएको विषयलाई गम्भीरतापूर्वक लिन उनले आग्रह गरे।
नेपाल कम्युनिष्ट पार्टी (एमाले) का सांसद भगवती चौधरीले जमिनमुनिको पानीको गुणस्तर परीक्षण हुन नसकेको भन्दै यस्तो पानी प्रयोगका लागि उपयुक्त छ वा छैन भन्ने नजानी उपभोक्ताले प्रयोग गरिरहेको विषय सदनमा उठाए ।
एमालेका सांसद चन्द्रबहादुर विश्वकर्मा सवारिसाधन दुर्घटना बढेको बताए। सडक दुर्घटनामा परी घाइते भएका व्यक्तिको निःशुल्क उपचारको व्यवस्था गर्न सरकारसँग माग गरे ।