विद्याको पत्रकार सम्मेलन- मेरो सदस्यता खारेज हुँदैन, एमालेको निर्णय अपरिपक्व (पूर्णपाठ)
काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पत्रकार सम्मेलन गरेकि छन् । काठमाडौँको बानेश्वरस्थित कार्की बैंक्वेटमा पत्रकार सम्मेलन गरेकी हुन् ।
सक्रिय राजनीतिमा आएको घोषणा गरेकी भण्डारीलाई उनको पार्टी नेकपा एमालेले सदस्यता नै नवीकरण नगरेर रोकेको छ । त्यसपछि खास टिप्पणी नगरेकी भण्डारीले आज विशेष पत्रकार सम्मेलनमार्फत विभिन्न कुरा बोलेकि छिन् । पहिले उनले आफूलाई कुनै पदको महत्वकांक्षा र आशक्ति नभएको बताएकी छिन् । उनले आफू राष्ट्रकै सर्वोच्च पदमा पुगेकाले अब पदको कुनै आशक्ति नभएको तर्क गरेकी हुन् । ‘कुनै पदप्रति लालसा, महत्त्वकांक्षा र आशक्ति छैन । किनकी मैले राष्ट्रकै सर्वोच्च पदमा पुगेर इतिहासमा आफ्नो नाम दर्ज गरिसकेको छु,’ उनले भनिन् । उनले आफू राजनीतिमा आएर देश र जनताको सेवा गर्ने विषयलाई अनौठो नमान्न समेत उनले आग्रह गरिन् ।
साथै भण्डारीले आफ्नो पार्टी सदस्यता विवादमा पार्नुपर्ने विषय नभएको बताइन् । पूर्वराष्ट्रपति भण्डारीले आफूलाई सदस्यताबाट वञ्चित गर्न कदापि नमिल्ने दाबि गरिन् । ‘पार्टी सदस्यताबाट वञ्चित गर्नुपर्ने कारण छैन । नेपालको संविधान, ऐन र संवैधानिक अधिकार र स्वतन्त्रतालाई नियन्त्रण गर्ने पार्टीको अपरिपक्व निर्णयले दुःखी बनाएको छ’, भण्डारीले पत्रकार सम्मेलनमा भनिन् । उनले पार्टीले गरेको निर्णय वैध नभएको समेत बताइन् । उनले आफू पार्टी सदस्य भएको ४५ वर्ष बितिसकेको भन्दै पार्टी प्रतिको निष्ठामा प्रतिबद्ध हुँदाहुँदै पार्टी सदस्यताबाट वञ्चित गर्न कदापि नमिल्ने बताइन् । उनले पार्टी बनाउन आफू लगायत हजारौँ नेता कार्यकर्ताको रगत पसिनाको मेहनत रहेको भन्दै यो कुरा भावनामा बगेर नभनेको बताइन् ।
भण्डारीले आफूले एमालेको सदस्यता विधिपूर्वक नविकरण गरिसकेको दोहोर्याएकी छन् । आफू देशका लागि थप योगदान दिनका लागि पार्टीमा फर्किन चाहेको उनले बताइन् । ‘कसैलाई लाग्यो भन्दैमा मेरो सदस्यता फाल्न सक्छ भन्ने मलाई लाग्दैन,’ भण्डारीले भनिन् । पत्रकारले भण्डारीलाई उनको भावि रणनीतिबारे धेरै प्रश्न राखेका थिए । सबैलाई छोटकरीमा सम्वोधन गर्दै उनले आफू एमालेमै रहेको समेत दाबि गरेकि छिन् ।

