७० करोड लगानीको बगैंचा रिसोर्ट एण्ड स्पा सञ्चालनमा
पोखरा । गण्डकी प्रदेशका सामाजिक विकासमन्त्री विन्दुकुमार थापा अध्यक्ष रहेको अंशुभरा ग्रुपले पोखरामा नयाँ लक्जरी रिसोर्ट सञ्चालनमा ल्याएको छ। पोखरामा घरजग्गा कारोबार, हस्पिटालिटी, व्यवसायिक मल, अटोमोबाइल लगायतका व्यवसाय सञ्चालन गरिरहेको ग्रुपले लेकसाइडमा ‘बगैंचा रिसोर्ट एण्ड स्पा सञ्चालनमा ल्याएको हो। चार रोपनी जमिनमा फैलिएको रिसोर्ट ७० करोड रूपैयाँ लगानीमा निर्माण गरिएको अंशुभरा ग्रुपले जनाएको छ। रिसोर्टको बुधबार उद्घाटन गर्दै परराष्ट्रमन्त्री आरजु राणा देउवाले देशमा केही पनि भएको छैन भन्ने भाष्य गलत भएको बताइन्। ‘देशमा केही पनि भएको छैन भन्ने भाष्य गलत छ, उनले भनिन्, ‘विदेशमा गर्ने मेहनत आफ्नो देशमा गर्यो भने पैसा पनि कमाइन्छ, इज्जत पनि कमाइन्छ। रिसोर्ट उद्घाटन गर्न निम्तो आएपछि आफू आँखा चिम्लिएर आएको भन्दै उनले रिसोर्ट राम्रो र भब्य बनेको बताइन्। थापा परिवारसँग निकट सम्बन्ध रहेको मन्त्री राणाले जलवायु परिवर्तनको संकटका बेला वातावरणमैत्री रिसोर्ट सञ्चालनमा ल्याएको भन्दै गण्डकीका मन्त्री थापाप्रति आभार व्यक्त गरिन्। बुधबारदेखि सञ्चालनमा आएको रिसोर्टमा स्ट्याण्डर्ड, एक्जिक्युटिभ, आर्बर सुइट र बगैंचा सुइट गरी चार प्रकारका ३२ वटा लक्जरी सुइट रूम छन्। रिसोर्टमा बास बस्न प्रतिरात न्युनतम १५० डलरदेखि ३५० डलरसम्म शुल्क तोकिएको अंशुभरा ग्रुपका निर्देशक सौगात थापाले जानकारी दिए। उनका अनुसार, सबै कोठामा हरियाली दृश्यावलोकन गर्न सकिने छ भने निजी बालकोनी समेत छन्। रिसोर्टमा नेपाली परम्परागत खानाका साथै विभिन्न देशको परिकारको स्वाद लिन पनि सकिने निर्देशक थापाले बताए। ‘बगैंचा रिसोर्टमा टारो पुलसाइड बार र मरिच इन्डो–चाइनीज रेष्टुरेण्ट छन्। उमामी प्यान–एशियन रेष्टुरेण्ट पनि समावेश गरेका छौं। यसले स्वादमा बहुराष्ट्रिय विविधता प्रदान गर्नेछ । रिसोर्टले स्थानीय स्तरमा उत्पादन भएका सामाग्री प्रयोग गर्ने नीति लिएको छ। यस्तै, शुन्य प्लाष्टिक नीति अपनाएको हुँदा काठ, ढुंगा, हस्तकला र महिला उद्यमीहरूको उत्पादनलाई प्राथमिकता दिएको निर्देशक थापाले बताए। ुरिसोर्टमा एकल महिलाद्वारा निर्मित सामाग्री र राउटे समुदायका परम्परागत भाँडाकुँडाको प्रयोगलाई प्राथमिकता दिइएको छु, उनले भने।
वर्षातको पानी संकलन गरेर प्रयोग गर्ने नीति रिसोर्टले लिएको छ। रिसोर्टले विद्युतीय सवारी साधन मात्र प्रयोग गर्ने र जैविक विविधतालाई संरक्षण गर्ने नीति लिएको छ। जलावायु सचेतताका लागि रिसोर्ट निर्माण गर्दा वातावरणमैत्री नीतिहरू अपनाएको ग्रुपले बताएको छ। रिसोर्टमा राखिएको स्पा सेवामा पारम्परिक नेपाली उपचार विधि, योग अभ्यास, सिङ्गिङ बाउल थेरापी र साउन्ड हिलिङ लगायत समावेश छन्। पोखराको पर्यटन क्षेत्रमा आधुनिक सौन्दर्य, पारम्परिक स्वाद र वातावरणमैत्री प्रविधिको संयोजन गरेर रिसोर्ट निर्माण गरेको निर्देशक थापाले बताए। अंशुभरा ग्रुपका अध्यक्ष एवं गण्डकीका समामाजिक विकास मन्त्री थापाले युवा पुस्तामा व्यवसाय हस्तान्तरण गर्न छोरा सौगात थापालाई सँगसँगै लगेको बताए। नयाँ पुस्ताले नयाँ भिजनका साथ काम गर्ने भन्दै उनले बगैंचा रिसोर्ट यसैको उदाहरण भएको बताए। पर्यटकीय राजधानी पोखरामा पर्यटकका लागि फरक पूर्वाधार निर्माण गरेको बताए। ‘पोखरालाई पर्यटनको राजधानी घोषणाले मात्र हुँदैन, पूर्वाधार पनि चाहिन्छ । पोखरालाई पर्यटनको अन्तर्राष्ट्रिय केन्द्र बनाउन पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल र नेपाल–चीनवीच रहेको मुस्ताङको कोरला नाका पूर्ण रूपमा सञ्चालनमा आउनुपर्ने उनको भनाइ छ। उद्घाटन समारोहमा गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री एवं एमाले नेता खगराज अधिकारीले अन्नपूर्ण क्षेत्र पदयात्रा गर्न आउने पर्यटकका लागि नयाँ आश्रम बनेको बताए। रिसोर्ट भब्य रहेको भन्दै उनले प्रगतिको शुभकामना दिए।