‘कार्की साइँला’ मा जितु नेपाल र निर्देशक राजेन्द्र बस्नेतबीच लफडा !
काठमाडौं । कलाकार जितु नेपाल र चलचित्र ‘कार्की साइँला’ का निर्देशक राजेन्द्र बस्नेतबिच विवाद चुलिएको छ । चलचित्रको कथालाई लिएर भएको मतभेदका कारण चलचित्र ‘कार्की साइँला’ सङ्कटमा परेको छ।
‘कार्की साइँला’ भरियाको जीवनमा आधारित रहेर बनाउन लागिएको फिल्म हो । निर्देशक बस्नेतका अनुसार, २०३६ सालतिर भरियाहरूले भोगेको दुःख, भरियाहरूलाई गरिने व्यवहार र उनीहरूको जीवनलाई केन्द्रमा राखेर कथा तयार गरिएको थियो । तर, जितु नेपालले कथामा कमेडी मिसाउनुपर्ने सुझाव दिए । जितुले आफूलाई दर्शकहरूले केही कमेडी भूमिकामा पनि देख्न चाहने र सोही अनुसार कथा परिवर्तन गर्नुपर्ने तर्क राखे ।
तर, कथा, पटकथा लगायत सबै तयार भइसकेको र गम्भीर विषय भएको भन्दै निर्देशक बस्नेतले त्यो कुरा मान्न तयार भएनन् । यही विषयबाट सुरु भयो विवाद । अहिले स्थिति यस्तो छ कि नेपाल वा बस्नेतमध्ये एक जना मात्रै फिल्ममा रहने चर्चा चलेको छ । निर्देशक बस्नेतले आफूले नेपालसँग काम गर्न नचाहेको सङ्केत गरेका छन् भने नेपालले पनि अन्तिम निर्णय निर्माताकै हुने बताएका छन् ।
यस चलचित्रका निर्माता बालकुमार राई हुन् । वैशाख ८ गते कोटेश्वरको महादेवस्थान मन्दिरमा चलचित्रको शुभ मुहूर्त गरिएको थियो । वैशाख २० देखि धनकुटामा छायाङ्कन सुरु हुने भनिए पनि अहिलेसम्म सुटिङ रोकिएको छ।
विवादबिच निर्देशक बस्नेतले सामाजिक सञ्जालमा लेखे यस्तो ?
यसबाट उनले अनुभव हुँदाहुँदै पनि आफूप्रति सम्मान नपाएको गुनासो गरिएको देखिन्छ । यो स्ट्याटस विशेषतः जितु नेपालसँगको विवादतर्फ लक्षित भएको अनुमान गर्न सकिन्छ । आफूप्रति भएको व्यवहारबाट बस्नेत गहिरो असन्तुष्ट छन् । उनले शब्दमा नराखे पनि, यो पोस्ट प्रत्यक्ष रूपमा जितु नेपालतर्फ लक्षित व्यङ्ग्य भएको देखिन्छ ।
त्यस्तै, जितु नेपाल अर्को फिल्म ‘परालको आगो’ बाट पनि बाहिरिएको पुष्टि भएको छ । निर्माण पक्षले कथा हेरफेर गर्न खोजेपछि उनी बाहिरिएको बताएका छन् । ‘कार्की साइँला’ कर्णबहादुर फिल्मस् प्रालिको ब्यानरमा बन्न लागेको हो । प्रस्तुत कर्ता कृष्ण भगत चाम्लिङ, निर्माता बालकुमार राई, द्वन्द्व निर्देशक राजु किराँती, सङ्गीतकार बाबुल गिरी, नृत्य निर्देशक कमल राई, सह–निर्देशक जीवननाथ गौतम र लेखक अजित लामिछाने रहेका थिए । हाल यि मध्य को रहने वा नरहनेबारे अन्योल कायम छ । यस अघि फिल्ममा जितु नेपाल, वर्षा शिवाकोटी, गीता अधिकारी, मान्सी शर्मा, श्याम मगर र मनिल तामाङको अभिनय रहने बताइएको थियो । तर अब यि मध्य को हुने को नहुने अन्योल रहेको छ ।
तर यसै विवादबिच निर्देशक बस्नेतले नयाँ फिल्म ‘किस्ने कहाँ छ ?’ को घोषणा गरिसकेका छन् । यो चलचित्र कमेडी जनरामा आधारित हुनेछ । फिल्मको नाम ‘किस्ने कहाँ छ ?’ राखिएको छ । केहिदिन अघि फिल्मको थिम पोस्टर सार्वजनिक गर्दै फिल्मको औपचारिक घोषणा गरिएको हो ।