‘परालको आगो’ मा सौगात मल्लको प्रवेश
काठमाडौँ । गुरुप्रसाद मैनालीको प्रसिद्ध कथा ‘परालको आगो’ मा आधारित फिल्ममा अब अभिनेता सौगात मल्लको पनि प्रवेश भएको छ ।
निर्माण टोलीले उनलाई कथाको महत्त्वपूर्ण पात्र जुठे दमाईको भूमिकामा अनुबन्ध गरेको हो । यसअघि यो भूमिकाका लागि अभिनेता जितु नेपाललाई तय गरिएको थियो, तर उनले यो फिल्म गर्न नसक्ने भएपछि सौगातलाई भित्र्याइएको हो । फिल्मका निर्माता सुशील पोखरेलका अनुसार सौगातको सहभागितासँगै मुख्य कलाकारहरूको लाइनअप पूरा भएको छ । यसअघि फिल्ममा प्रकाश सपुत, सुहाना थापा, सिर्जना अधिकारी, शंकर आचार्य, किशोर भण्डारी, कुलदिप अधिकारी, सरु भण्डारी, रेणु न्यौपाने र ज्याक श्रेष्ठ अनुबन्धित भइसकेका छन् ।
फिल्म ‘परालको आगो’ पति–पत्नी चामे र गौँथलीबीचको वैवाहिक द्वन्द्वको कथा हो । फिल्ममा सुहाना थापाले गौँथलीको भूमिका निभाउनेछिन् ।