शिक्षा समितिबाट उपसमितिको प्रतिवेदन परिमार्जनसहित पारित
काठमाडौं । शिक्षा विधेयकका विवादित सबै विषयको टुंगो नलगाई प्रतिनिधिसभाअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको आजको बैठक सकिएको छ । अर्को बैठकको मिति तोकिएको छैन । बैठकले छविलाल विश्वकर्मा संयोजकत्वको उपसमितिको प्रतिवेदन परिमार्जनसहित पारित गरेको छ । जसमा बढुवा, कार्यसम्पादन मूल्यांकनसहितका विषयमा सहमति जुटाएर समावेश गरिएको छ । समितिले हालसम्म भएका सहमतिलाई समेटेर प्रतिवेदन तयार पार्ने जिम्मा समितिको सचिवालयलाई दिएको छ । प्रतिवेदन पेस भएपछि थप छलफल गरिने समितिले जनाएको छ ।
के भयो सहमति ?
समितिले तीन प्रकारले शिक्षकको बढुवा गर्ने सहमति जुटाएको छ । जसअनुसार, आन्तरिक प्रतियोगिता, ज्येष्ठता र कार्यसम्पादन मूल्यांकन र कार्यक्षमताको मूल्यांकनबाट बढुवा गर्ने सहमति भएको छ । यसअघि, उपसमितिको प्रतिवेदनमा शिक्षकको बढुवाका लागि आन्तरिक प्रतियोगिता र आवधिक बढुवाको व्यवस्था थियो । यस्तै, पाँच वर्षको कार्यसम्पादन मूल्यांकनको अंकमा पनि सहमति जुटेको छ । पाँच वर्षको कार्यसम्पादन मूल्यांकनको नम्बर ९० बाट ८० मा झार्ने सहमत जुटेको हो । यसैगरी, समितिमा शिक्षक प्रधानाध्यापक नियुक्त भएपछि स्वतस् शिक्षक महासंघको सदस्यता निष्क्रिय हुने बुँदामा सहमति जुट्यो ।