रामहरि खतिवडाले दिए राज्य व्यवस्था समितिको सभापतिबाट राजीनामा
काठमाडौँ । कुलिङ अफ पिरियडसम्बन्धी गडबडी छानबिन विशेष समितिले जिम्मेवार ठहर गरेका प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले पदबाट राजीनामा दिएका छन्।
मंगलबारको प्रतिनिधि सभाको बैठकमा खतिवडाले औपचारिक रूपमा राजीनामाको घोषणा गरेका हुन् । निजामती सेवा विधेयकको प्रतिवेदनमा गम्भीर त्रुटि भएको निष्कर्षसहित विशेष समितिले खतिवडालाई समेत जिम्मेवार ठहर गरेको थियो। राजीनामा पूर्व प्रतिनिधि सभामा सम्बोधन गर्दै खतिवडाले आफू सुरुदेखि नै सरकारी कर्मचारीका लागि कुलिङ अफ पिरियड लागू हुनुपर्ने पक्षमा अडिग रहेको र भविष्यमा पनि यसै धारणा कायम रहने बताए। उनले निजामती सेवा विधेयकको प्रतिवेदनमा आफ्नो हस्ताक्षर रहेको स्वीकार गर्दै, अवकाशलगत्तै कर्मचारीलाई संवैधानिक र कूटनीतिक पदमा नियुक्ति दिन नहुने पक्षमा आफू सधैँ रहेकाले त्यसैअनुरूप समिति नेतृत्व गरेको स्पष्ट पारे।
राज्य व्यवस्था समितिबाट पारत भएको विधेयकको प्रतिवेदनमा गम्भीर त्रुटि भएको संसदीय छानबिन समितिले निष्कर्ष निकालेको छ । प्रतिवेदन आइसकेपछि सभापति खतिवडा समेत जिम्मेवार रहेको भनेर प्रश्न उठिरहेका बेला खतिवडाले राजीनामा दिएका हुन् ।
उनले राज्य व्यवस्था समितिको विधायिकी मनसाय विपरीत प्रतिवेदन तयार भएको आरोप लगाउँदै, प्रतिवेदन लेखनमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय र संघीय मामिला मन्त्रालयका कर्मचारी संलग्न रहेको बताए। त्रुटि आफू वा समितिका सदस्यहरूबाट नभएको दाबी गर्दै उनले अन्तिम चरणमा पर्याप्त रूपमा नहेर्नु कमजोरी भएको स्वीकार गरे।
संसदीय छानबिन प्रतिवेदनले आफूलाई दोषी नठहर्याएको पनि खतिवडाले दाबी गरे । राजनीतिमा कतिपय बेला नगरेको गल्तीसमेत बेहोर्नुपर्ने अवस्थामा पुग्न सक्ने र आफूमाथि त्यस्तै भएको बताए । आफूलाई कारबाहीको सिफारिस समेत नभएको उल्लेख गर्दै उनले भने, ‘ प्रतिवेदनमा जिम्मेवारी भन्ने शब्द प्रयोग गरिएको हुँदा म जिम्मेवारी बोध गर्दै राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिबाट आज हाँसीहाासी राजीनामा दिएको घोषणा गर्दछु ।’