शवबाट अंग खरिद गरेको आरोपमा दुई व्यक्ति पक्राउ
काठमाडौं । राजधानीको पशुपति आर्यघाटमा जलिरहेको शवबाट अंग खरिद गरेको आरोपमा दुई व्यक्ति पक्राउ परेका छन्।
पक्राउ पर्नेमा सर्लाही, लालबन्दीका ४२ वर्षीय रामनन्दन ठाकुर (कपन बसोबास) र सप्तरी, बलानबिहुलका ४१ वर्षीय मिश्रीलाल यादव (गौरीघाट बसोबास) रहेका छन्। काठमाडौं प्रहरीका प्रवक्ता एसपी कुलदीप चन्दका अनुसार उनीहरूले बनेपा–९ का राम शाहीको जलिरहेको शवबाट कान्छी औंलाको टुप्पो र खरानी खरिद गरेका थिए।
घटनापछि मलामीले उजुरी दिएपछि घाटे ब्राह्मण गणेश ढकाल (६१, मण्डन देउपुर, काभ्रे) र उनका सहयोगी विनायक मैनाली (२४, कटारी, उदयपुर) पनि पक्राउ परेका थिए। उनीहरूले ४ सय रुपैयाँको लोभमा शवको अंग र खरानी दिएको स्वीकार गरेको प्रहरीको भनाइ छ।
प्रहरीका अनुसार खरिदकर्ताले ‘भगवानको पूजा गर्नुपर्ने’ भन्दै मृत शरीरको भाग मागेका थिए। तर, कुन भगवानको पूजा गर्न यस्तो अंग आवश्यक पर्छ भन्नेबारे उनीहरूले जानकारी नभएको बताएका छन्।