प्रधानमन्त्री आज मधेश प्रदेश जाँदै
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली आज मधेश प्रदेश जाँदैछन् । उनी धनुषा र महोत्तरीका कार्यक्रममा सहभागी हुन मधेश जान लागेका हुन् ।
उनी आज नेपाली सेनाको हेलिकप्टरबाट धनुषा प्रस्थान गर्नेछन् । उनले धनुषामा मधेश प्रहरी कार्यालय उद्घाटन र हंसपुरमा बाटो शिलान्यास गर्ने कार्यक्रम तय भएको छ । त्यसपछि उनी धनुषाबाट महोत्तरी प्रस्थान गर्नेछन् । महोत्तरीमा पनि उनी बाटो शिलान्यासको कार्यक्रममा सहभागी हुनेछन् । सोनामा भन्ने स्थानमा उनले पक्की सडक शिलान्यास गर्ने कार्यक्रम छ ।
मधेश प्रदेश सरकार, भौतिक पूर्वाधार विकास मन्त्रालयको साझेदारी तथा विश्व बैंकको ऋण सहयोगमा सञ्चालित प्रादेशिक तथा स्थानीय सडक सुधार कार्यक्रमअन्तर्गत महोत्तरीको हुलाकी राजमार्ग रघुनाथपुर बजार–सोनमा–तरहारी–सुन्दरपुर खण्डको ८.३८४ किलोमिटर कालोपत्रे सडक निर्माण गर्न लागिएको हो । धनुषा र महोत्तरीका कार्यक्रममा सहभागी भएर प्रधानमन्त्री ओली आज नै काठमाडौँ फर्किने कार्यक्रम छ ।